सीमा अभिव्यक्ति र सुस्ता घटनाविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति र सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादती भएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले प्रधानमन्त्री शाहले संसद्मा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि सुस्तामा भारतीय एसएसबीको दबाब र हस्तक्षेप बढेको आरोप लगाएका छन्।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितविपरीत भएको भन्दै त्यसको विरोध गरेका थिए। उनीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, सम्मान र अधिकारको संरक्षण गर्न सरकार गम्भीर हुनुपर्ने माग गरे।
प्रदर्शनकारीहरूले ‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’, ‘जनताको प्रतिनिधि हौ कि बालेनको रबर स्ट्याम्प?’, ‘मलाई बोल्न दे सरकार’, ‘सुस्तामा जनताको रखवाली, दिल्लीमा बालेनको दलाली’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
विद्यार्थी संगठनले सीमा, राष्ट्रिय स्वाधीनता र सुस्ताका नागरिकमाथि भएको भनिएको ज्यादतीका विषयमा सरकार मौन बस्न नहुने जनाएको छ। उनीहरूले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सच्याउनुपर्ने र सुस्तामा भारतीय पक्षबाट भएको भनिएको हस्तक्षेपबारे कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनकारीहरूले सीमा क्षेत्रका नागरिकको संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै सरकारलाई राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा र जनताको आवाजप्रति जिम्मेवार बन्न आग्रह गरेका छन्।





