दुर्गा प्रसाईंकाे विवादास्पद अभिब्यक्ति: राजदरबार हत्याकाण्डमा आइआरआइ र एनएबिको हात रहेको दाबी

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजदरबार हत्याकाण्डबारे विवादास्पद अभिव्यक्ति दिएका छन्। आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले आइआरआइ र एनएबि लागेर राजा महेन्द्रसहित राजा वीरेन्द्रको परिवारको हत्या गरेको बताए।
प्रसाईंले राप्रपा नेता राजेन्द्र लिङदेन पनि आइआरआइको सदस्य रहेको भन्दै राजालाई राजगद्दीबाट हटाउने र देशमा संघीयता भित्र्याउन भूमिका खेलेको आरोप लगाए। पत्रकार सम्मेलनमा उनले देशका प्रमुख राजनीतिक नेताहरूलाई ‘गद्दार’ भन्दै राष्ट्रिय हितविपरीत काम गरेको बताए। विदेशमा सम्पत्ति राख्ने र देशको हितविपरीत गतिविधिमा संलग्न भएको आरोपसमेत लगाए।
उनले भने, “तपाईंहरूले कमाएको पैसा काम लाग्दैन, तपाईंहरू आमा बेच्ने हो। तपाईंहरू छोरी बेच्ने हो। तपाईंहरू देश बेच्ने भनेको आमा र छोरी बेच्ने हो। तपाईंहरू अपराधी हौ।” प्रसाईंले नेपाल–भारत सीमा विवादको विषयमा बोल्दै सरकारले राजदरबार हत्याकाण्डको अनुसन्धानको विषयलाई जनताको ध्यान अन्यत्र मोड्ने माध्यमका रूपमा प्रयोग गरेको समेत बताए।
उनले राजसंस्था र हिन्दुराष्ट्रको अन्त्य गराउन भूमिका खेलेका शक्तिहरूमाथि विश्वास गरेर राजसंस्था पुनर्स्थापना हुने अपेक्षा जनताले गरेको बताउँदै भने, “जुन संस्थाले राजसंस्था सक्यो। जुन संस्थाले हिन्दु राज्य सक्यो। जुन संस्थाले सिंहदरबारमा आगो लगायो – टिओबि ग्रुप। दलाई लामाको ग्रुप। त्यही संस्थाले राजसंस्थाको हत्यारा पत्ता लगाएर राजा ल्याइदिन्छ भन्दा मख्य परेका छन्।”





