३१ जेष्ठ २०८३, आईतवार

सेभास्तोपोल संग्रहालयमा ड्रोन आक्रमणप्रति आइकम नेपालको चिन्ता

काठमाडौं । आइकम नेपालले सेभास्तोपोलस्थित प्यानोरामा संग्रहालय ‘डिफेन्स अफ सेभास्तोपोल १८५४–१८५५’ माथि भएको भनिएको युक्रेनी ड्रोन आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

रुस दिवसका अवसरमा नेपाली मित्रहरूबाट प्राप्त शुभकामनाप्रति धन्यवाद व्यक्त गर्दै रुसी पक्षले जुन १० मा भएको उक्त आक्रमणपछि प्राप्त समर्थन सन्देशले आफूहरूलाई अझ बढी भावुक बनाएको जनाएको छ।

रुसी पक्षले अन्तर्राष्ट्रिय संग्रहालय परिषद् आइकमको राष्ट्रिय समिति आइकम नेपालप्रति विशेष आभार व्यक्त गरेको छ। आइकम नेपालले पठाएको पत्रमा उक्त सांस्कृतिक संस्थामा भएको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै रूसी संग्रहालयकर्मी, सम्पदा संरक्षणकर्मी तथा सांस्कृतिक सम्पदाको क्षति वा नोक्सानीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको थियो।

रुसी पक्षका अनुसार प्रसिद्ध प्यानोरामा संग्रहालयको भवनमा उल्लेखनीय क्षति पुगेको छ। प्रारम्भिक मूल्यांकनअनुसार सन् १९५४ मा सोभियत कलाकारहरूको समूहले बनाएको ‘द असल्ट अफ ६ जुन १८५५’ शीर्षकको क्यानभासमा व्यापक क्षति पुगेको बताइएको छ।

सेभास्तोपोलका अधिकारीहरूले उक्त आक्रमण नियोजित प्रकृतिको भएको दाबी गरेका छन्। रुसी पक्षले यसलाई ऐतिहासिक स्मृतिमाथि प्रहार गर्ने उद्देश्यले गरिएको तोडफोड र बर्बर कार्यको संज्ञा दिएको छ।

आइकम नेपालको प्रतिक्रिया सांस्कृतिक सम्पदा संरक्षण, संग्रहालय क्षेत्रको सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सरोकार र युद्ध तथा द्वन्द्वका समयमा सांस्कृतिक धरोहर जोगाउने आवश्यकतासँग जोडिएको रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button