भारतीय सैनिक हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा, सरकारले जवाफ माग्ने

दार्चुला – २७ जेठ बिहान १० बजे भारतीय सेनाको एउटा हेलिकोप्टर नेपाल सरकारको पूर्वअनुमति नलिई दार्चुला क्षेत्र हुँदै नेपाली आकाशमा पसेको पाइएको छ। दार्चुलाका सहायक प्रजिअ मोहनसिंह धामीले ‘भारतीय सैनिक हेलिकोप्टर अनुमति बेगरै नेपाली आकाश हुँदै कालापानी गएको पाइयो’ भनी कान्तिपुरसँग जानकारी दिए। सुरक्षा स्रोतहरूका अनुसार उक्त हेलिकोप्टरमा भारतको ‘इन्डो–टिबेट बोर्डर पुलिस’ (आइटीबीपी) का महानिर्देशक शत्रुजीतसिंह कपूर सवार थिए। हेलिकोप्टर दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरुको आकाश हुँदै कालापानी गएको पाइएको छ।
कालापानीसहित लिम्पियाधुरा र लिपुलेख क्षेत्र भारतीय अतिक्रमित नेपाली भूभाग हो, जहाँ भारतीय सेनाको अलावा अर्धसैनिक दस्ता एसएसबी र आइटीबीपीको फौज तैनाथ छ। नेपालीलाई त्यस क्षेत्रमा भारतले आउजाउ निषेध गरेको छ। आइटीबीपी प्रमुख कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित ब्यारेक निरीक्षण गर्न गएको बुझिएको छ तर कुन विशेष उद्देश्यले भन्ने स्पष्ट छैन। सुरक्षा स्रोतका अनुसार सोही हेलिकोप्टरबाट उनी आदी कैलाश र ओमपर्वत क्षेत्र अवलोकन गरी फर्किएका थिए।
भारतीय सैनिक हेलिकोप्टर छाङरू क्षेत्रको आकाशमा छिरेलगत्तै नजिकैको सशस्त्र प्रहरी गुल्मले दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्रको ५० नम्बर गण हेडक्वार्टरलाई जानकारी गराएको थियो। त्यसपछि जिल्ला प्रशासन र तहगत संयन्त्रमार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको थियो। छाङरूको बस्तीमाथि भारतीय हेलिकोप्टर देखेपछि स्थानीयले विरोधमा नाराबाजी समेत गरेको एक युवाले बताए। ‘अरुबेला महाकाली नदी छेउबाटै जान्थ्यो, दिनहुँ ओहोरदोहोर हुँदा खासै वास्ता पनि हुँदैन थियो, त्यसदिन बस्तीमाथि नै आएपछि हामीले चिच्याएर विरोध गरेका थियौं,’ उनले भने।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाप्रति आपत्ति जनाउँदै भारतीय प्रशासनसँग जवाफ माग्ने प्रक्रिया अघि बढाएको छ। सहायक प्रजिअ धामीले कान्तिपुरसँग भने, ‘आइटीबीपीका महानिर्देशक कपुर कालापानी क्षेत्रस्थित गुञ्जीको युनिट निरीक्षणमा जाने क्रममा नेपालतर्फ छिरेको र यस विषयमा सुरक्षा संयन्त्रबाट प्रशासनलाई जानकारी आइसकेको छ, त्यसको ब्यहोरा गृह मन्त्रालयलाई पनि अवगत गराइसकेका छौं।’ भौगोलिक विकटता र प्रतिकूल मौसमका बेला कहिलेकाहीँ उडानमा समस्या पर्न सक्ने भए पनि भारतीय सुरक्षा प्रमुख उडेको दिन त्यस क्षेत्रको मौसम सामान्य रहेको पाइएको उनले बताए। उडानअघि यसबारे जानकारी नदिएको पनि उनको भनाइ छ।
एउटा देशको हेलिकोप्टर अर्को देशको आकाशमा बिना अनुमति प्रवेश गर्नुलाई ‘एयर स्पेस भ्वाइलेसन’ (हवाई क्षेत्र उल्लङ्घन) का रूपमा लिइन्छ। यसबारे पिथौरागढस्थित भारतीय डिस्ट्रिक मजिस्ट्रेटको कार्यालयलाई अनुमति बेगर किन हेलिकोप्टर नेपाली आकाशमा छिर्यो भनेर सोध्ने प्रक्रिया अघि बढाइएको धामीले जानकारी दिए।
यो भारतीय हेलिकोप्टरले पहिलो पटक नेपाली आकाश उल्लङ्घन गरेको भने होइन। पाँच वर्षअघि पनि भारतीय हेलिकोप्टर निरन्तर पिथौरागढको आकाशबाट बिना अनुमति दार्चुला सदरमुकाम खलंगा हुँदै कालापानीतर्फ जाने गरेको विषयमा कान्तिपुरले उजागर गरेपछि नेपाल सरकारले कूटनीतिक नोटमार्फत भारतको ध्यानाकर्षण गराएको थियो। २०७८ भदौ तेस्रो साता परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिक नोटमार्फत बिना अनुमति नेपालको आकाश प्रयोग नगर्न आग्रह गरेको थियो। खलंगास्थित नेपाली सेनाको गुरु गोरख गुल्म हेडक्वार्टरमाथिबाट भारतीय हेलिकोप्टर निरन्तर उड्न थालेपछि जिल्ला सुरक्षा समितिले बैठक बोलाएर प्रशासनले भारतीय उक्त कदमप्रति आपत्ति जनाएको थियो।
नेपालको राजनीतिक तथा प्रशासनिक मानचित्रअनुसार कालापानी, लिपुलेक, लिम्पियाधुराका भूभाग दार्चुलाको ब्यास गाउँपालिका–१ अन्तर्गत पर्छन्। ती क्षेत्रमा भारतीय सेना, आइटीबीपी र एसएसबीका फौज वर्षौंदेखि तैनाथ छन्। दुवै देशले कालापानी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन्। कात्तिक २०७६ मा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालले विरोध गरेको थियो। त्यसपछि नेपालले पनि सो क्षेत्र समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो, जसलाई २०७७ जेठ ३१ को प्रतिनिधि सभा बैठकले संविधान संशोधन विधेयक पारित गरी नयाँ नक्सालाई समावेश गरेको थियो। सोही क्रममा कालापानी नजिकै छाङरूमा पनि सशस्त्र प्रहरीले निरीक्षकको नेतृत्वमा पहिलो पटक फौज तैनाथ गराएको थियो।
हाल छाङरुमा सशस्त्र प्रहरीले डीएसपीको नेतृत्वमा गुल्म र त्यस मातहत तिंकरमा निरीक्षकको नेतृत्वमा बोर्डर आउट पोस्ट (बीओपी) तैनाथ गरी सीमा सुरक्षा गर्दै आएको छ।





