३१ जेष्ठ २०८३, आईतवार

परराष्ट्रमन्त्री खनाल चारदिने चीन भ्रमणमा, बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

बेइजिङ – चारदिने औपचारिक भ्रमणका लागि चीन आएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन्। चीनको विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल आज बिहान बेइजिङ पुगेका हुन्।

उनलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए। आज अपराह्न परराष्ट्रमन्त्री खनाल उहाँको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गरेको दूतावासले जनाएको छ।

कार्यक्रममा उनले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गरे। साथै उनले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गरे। यसअघि परराष्ट्रमन्त्री खनालले राजदूतावास परिसरमा बिरुवा रोपेका थिए। उनले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्यसम्पादन र प्राथमिकताबारे जानकारी लिएका थिए। मन्त्री खनालले चीनमा नेपालको हित प्रवर्द्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरूलाई निर्देशन दिएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button