३१ जेष्ठ २०८३, आईतवार

प्रधानमन्त्री शाहको अँगालो तस्बिर : ‘देश बनाउने टोली’ दाबीसँगै रहस्यमय पोस्ट, सामाजिक सञ्जालमा चर्को प्रतिक्रिया

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँग अँगालो मारेको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्ने दाबी गरेका छन्। कालो पहिरनमा सजिएका तीनै जनाको तस्बिरमा उनले ‘पीएम, एचएम, आईएम’ भनेर उल्लेख गरेका छन्। यसको अर्थ प्राइम मिनिस्टर (प्रधानमन्त्री), होम मिनिस्टर (गृहमन्त्री) र इन्फ्रास्ट्रक्चर मिनिस्टर (पूर्वाधार मन्त्री) भन्ने बुझिएको छ।

प्रधानमन्त्री शाहले यो तस्बिर आफ्नो आधिकारिक सामाजिक सञ्जाल (फेसबुक) मार्फत सार्वजनिक गरेका हुन्। तस्बिरमा उनी आफैं गृहमन्त्री तथा पूर्वाधार मन्त्रीसँग मुस्कुराउँदै अँगालो मार्दै देखिएका छन्। पोस्टको क्याप्सनमा उनले संक्षिप्त तर गहिरो अर्थ बोकेको शब्द ‘देश बनाउने टोली’ लेखेका छन्। यो पोस्ट सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा लाइक र कमेन्टको वर्षा भइरहेको छ।

प्रधानमन्त्री शाह प्रायः छोटा वाक्य र रहस्यमय अर्थ दिने पोस्ट गर्ने गर्छन्। ती पोस्टले अर्थपूर्ण व्याख्याको खाँचो राख्दै आएका छन्। यसअघि हिजो मात्रै उनले आफ्नो फेसबुक आइडीबाट ‘मेरो फेवरेट देशले विश्वकप नखेलेको’ भन्दै अर्को रहस्यमय पोस्ट गरेका थिए। उक्त पोस्टले पनि उत्तिकै चर्चा पाएको थियो, जहाँ उनले कुन देशलाई ‘फेवरेट’ भनेको हो भन्नेबारे यकिन हुन सकेको थिएन।

यो नयाँ तस्बिरलाई लिएर राजनीतिक पर्यवेक्षकहरूले विभिन्न धारणा राखेका छन्। कसैले यसलाई मन्त्रिपरिषद्को एकता र सहकार्य देखाउन खोजिएको तस्बिरका रूपमा हेरेका छन्, त कसैले छोटो क्याप्सनभित्रै कुनै संकेत वा राजनीतिक सन्देश लुकेको हुन सक्ने आशंका गरेका छन्। प्रधानमन्त्रीका प्रेमी र विरोधी दुवै पक्षले पोस्टमा आ–आफ्नो टिप्पणी गरिरहेका छन्। कमेन्टमा भने केहीले ‘यो टोलीले देश बनाउने अपेक्षा गरेको’ बताएका छन् त केहीले ‘तस्बिर र वास्तविकताभित्र तफरत छ’ भन्दै व्यंग्य समेत गरेका छन्।

तर, तस्बिरमा देखिएकै रूपमा तीन मन्त्रीबीचको ‘अँगालो’ र यसलाई ‘देश बनाउने टोली’ भनेर सन्दर्भित गर्दा निकट भविष्यमा प्रधानमन्त्रीले कुनै ठोस योजना वा संदेश जनतासमक्ष ल्याउन सक्ने अनुमानसमेत राजनीतिक वृत्तमा गरिएको छ। तर, आधिकारिक रूपमा कुनै स्पष्ट व्याख्या नभएकाले यस पोस्टलाई पनि उनको अघिल्ला रहस्यमय पोस्टको शृंखलाकै निरन्तरताका रूपमा हेरिएको छ।

प्रधानमन्त्री शाह यसअघि पनि विभिन्न सामाजिक सञ्जाल पोस्टमार्फत राजनीतिक संकेत र आफ्नो व्यक्तिगत शैली प्रस्तुत गर्दै आएका छन्। अहिलेको यो पोस्ट कूटनीतिक दृष्टिले सरकारको साझेदारी प्रदर्शन गर्ने प्रयास हो वा अरू नै संकेत, त्यो भने हेर्न बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button