भारतीय सैनिक हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा, कालापानी गएको पाइयो

दार्चुला – २७ जेठ बिहान १० बजे भारतीय सेनाको एउटा हेलिकोप्टर नेपाल सरकारको पूर्वअनुमति नलिई दार्चुला क्षेत्र हुँदै नेपाली आकाशमा पसेको पाइएको छ।
दार्चुलाका सहायक प्रजिअ मोहनसिंह धामीले कान्तिपुरसँग भने, ‘भारतीय सैनिक हेलिकोप्टर अनुमति बेगरै नेपाली आकाश हुँदै कालापानी गएको पाइयो।’ कालापानीसहित लिम्पियाधुरा र लिपुलेख क्षेत्र भारतीय अतिक्रमित नेपाली भूभाग हो, जहाँ भारतीय सेनाका अलावा अर्धसैनिक दस्ता एसएसबी र आइटीबीपीको फौज तैनाथ छ। नेपालीलाई त्यस क्षेत्रमा भारतले आउजाउ निषेध गरेको छ।
सुरक्षा स्रोतहरूका अनुसार उक्त हेलिकोप्टरमा भारतको ‘इन्डो–टिबेटन बोर्डर पुलिस’ (आइटीबीपी) का महानिर्देशक शत्रुजीतसिंह कपूर सवार थिए। उक्त सैनिक हेलिकोप्टर दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरुको आकाश हुँदै कालापानी गएको पाइएको छ।





