१७ भाद्र २०८३, बुधबार

‘अलोका’सहित शान्ति पदयात्रा टोली लुम्बिनीमा

लुम्बिनी। विश्व शान्ति, करुणा र मैत्रीको सन्देश लिएर ‘वाक फर पिस’ अभियानमा रहेका भियतनामी भिक्षु पन्याकर नेतृत्वको शान्ति पदयात्रा टोली बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको छ। आइतबार लुम्बिनी आएको टोलीमा १८ जना भिक्षु, उपासक–उपासिका तथा अभियानसँग जोडिएको ‘अलोका’ नामक कुकुरसमेत सहभागी छन्।

टोलीले आइतबार साँझ लुम्बिनीस्थित अखण्ड शान्ति दीप क्षेत्रबाट मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको थियो। मायादेवी मन्दिर पुगेपछि टोलीले पूजा, प्रार्थना तथा ध्यानसमेत गरेको थियो। टोलीलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले स्वागत गरेका थिए।

भिक्षु पन्याकर नेतृत्वको टोलीले विश्वभर शान्ति, करुणा, सद्भाव र मैत्रीको सन्देश फैलाउने उद्देश्यले पदयात्रा गरिरहेको छ। यात्राका क्रममा टोलीले सर्वसाधारणलाई बुद्ध दर्शन, शान्ति शिक्षा, ध्यान, दया, सदाचार र सहअस्तित्वको महत्वबारे जानकारी दिँदै आएको छ।

मायादेवी मन्दिर अवलोकन तथा प्रार्थनापछि आयोजित स्वागत कार्यक्रममा भिक्षु पन्याकरले बुद्धका शिक्षालाई जीवनमा आत्मसात् गर्नुपर्ने बताए। उनले जन्म र मरणको अनन्त चक्रबाट मुक्त हुन बुद्धले देखाएको बाटो, निर्वाण र परम आनन्द प्राप्तिको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

उनले हरेक प्राणीले मुक्ति र शान्ति प्राप्त गर्न दृढ संकल्प आवश्यक रहेको उल्लेख गरे। यही संकल्पका आधारमा आफूहरूले शान्ति पदयात्रा सुरु गरेको बताउँदै उनले सानो रूपमा सुरु भएको अभियानले अहिले विश्वव्यापी सम्मान पाएको बताए। भिक्षु पन्याकरले शान्ति व्यक्तिबाट सुरु हुने भएकाले हरेक मानिसले आफ्नै जीवनबाट शान्तिको अभ्यास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा उनले टोलीसँगै रहेको ‘अलोका’ कुकुरबारे पनि चर्चा गरे। उनका अनुसार अलोका लामो समयदेखि टोलीसँगै पदयात्रामा सहभागी हुँदै आएको छ र अहिले शान्तिको प्रतीकका रूपमा परिचित भएको छ। उनले अलोकाको उपस्थितिलाई नैतिकता, करुणा र प्राणीमात्रप्रतिको सद्भावसँग जोडेर व्याख्या गरेका थिए।

सन् २०२२ मा भिक्षु पन्याकर भारतमा पदयात्रामा रहँदा उक्त कुकुरले टोलीलाई पछ्याएको थियो। त्यसपछि कुकुर टोलीसँगै रहँदै आएको बताइएको छ। सन् २०२५ को अन्त्यतिर भिक्षु पन्याकर नेतृत्वको टोलीले अमेरिकाको टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि उक्त कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो। अमेरिकामा पुगेपछि कुकुरको नाम ‘अलोका’ राखिएको हो।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले मानवता, करुणा, सहअस्तित्व र विश्व बन्धुत्वको सन्देश प्रवाहित भएको पवित्र भूमिमा शान्ति पदयात्रा सम्पन्न हुनु महत्वपूर्ण रहेको बताइन्। उनले यसले शान्ति, सद्भाव र वैश्विक एकताको भावनालाई थप बलियो बनाएको धारणा राखिन्।

लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले अलोका कुकुरसहित भिक्षु पन्याकर नेतृत्वको टोलीको लुम्बिनी आगमनले ‘पिस वाक’ अभियानलाई थप सार्थक बनाएको बताए। उनले यस्तो अभियानले लुम्बिनीको शान्ति पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

शान्ति पदयात्रा टोली सोमबार बिहान हवाई उडानमार्फत काठमाडौँ जाने कार्यक्रम छ। टोलीले काठमाडौँमा बौद्धनाथ, स्वयम्भू, चारुमती र आनन्दकुटी विहार अवलोकन गर्नेछ। त्यसपछि साँझ ५ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

भिक्षु महासङ्घका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरका अनुसार विश्व शान्तिका लागि निरन्तर पदयात्रामा रहेका व्यक्तिहरूलाई शान्तिको उद्गमस्थल लुम्बिनी आउने वातावरण बनाउन आफू सक्रिय भएको बताए। टोलीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेपछि राष्ट्रपति तथा प्रधानमन्त्रीसँग भेटघाटको सम्भावना रहेको जानकारी पाएपछि व्यवस्थापनमा सहजीकरण गरिएको उनको भनाइ छ।

उनले धर्म, राजनीति र विचारधाराका कारण विभाजित देखिने अमेरिकामा गरिएको शान्ति पदयात्राले पनि करुणा, मैत्रीभाव र शान्तिप्रतिको ठूलो आकर्षण देखाएको बताए।

बुद्ध जन्मस्थल लुम्बिनीमा सम्पन्न शान्ति पदयात्राले विश्वभर शान्ति, करुणा र सहअस्तित्वको सन्देश प्रवाहित गर्ने अभियानलाई थप बल दिएको आयोजक तथा सहभागीहरूले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button