दुवै सदनको बैठक आज बस्दै, विनियोजन विधेयकमाथि छलफल सुरु हुने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची तय गरिएको छ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफल सुरु हुने भएको छ। सचिवालयका अनुसार विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ।
कार्यसूचीअनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल हुने जनाइएको छ।
त्यसैगरी, राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।





