३ असार २०८३, बुधबार

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङ यीबीच आज बेइजिङमा भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज बेइजिङमा भेटवार्ता हुँदैछ।

चारदिने औपचारिक भ्रमणका क्रममा हिजो मध्यान्ह चीनको राजधानी बेइजिङ पुगेका मन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच अपरान्ह भेटवार्ताको कार्यक्रम तय भएको हो।

चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने मंगोलिया भ्रमणका लागि अस्ति राजधानी उलानबाटोर पुगेका थिए। मंगोलिया भ्रमणबाट आज स्वदेश फर्किएपछि उनले नेपाली परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

मन्त्री खनाल चारदिने चीन भ्रमणका लागि अस्ति राति काठमाडौंबाट प्रस्थान गरेका थिए। बेइजिङ पुगेपछि उनी त्यहाँस्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएका थिए।

भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण आदानप्रदान, विकास सहकार्य, व्यापार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, पर्यटन तथा जनस्तरीय सम्बन्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button