पहिलो विद्यार्थी आन्दोलनको स्मरणमा जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलनको स्मरणमा आज जयतु संस्कृतम् दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीहरूले संस्कृतका शास्त्रीय विषयसँगै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग राख्दै तत्कालीन राणा शासनविरुद्ध आन्दोलन सुरु गरेका थिए। सोही ऐतिहासिक आन्दोलनको सम्झनामा हरेक वर्ष असार १ गते जयतु संस्कृतम् दिवस मनाउने गरिएको हो।
आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने मागबाट सुरु भएको विद्यार्थी आन्दोलन पछि जहानियाँ राणा शासनविरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। राणा शासकहरूले तीनधारा पाठशालाका विद्यार्थीलाई कारबाहीस्वरूप चार पाटा मुडेर काठमाडौं उपत्यकाबाट निकालेपछि उनीहरूले राणा शासनविरुद्ध देशव्यापी चेतना फैलाउने काम गरेका थिए।
त्यस क्रममा विद्यार्थीहरू देशका विभिन्न भाग हुँदै भारतको वनारस पुगेका थिए। वनारसमा उनीहरूले राणा शासन अन्त्यका लागि प्रवासमा रहेका नेपालीहरूलाई संगठित गरिरहेका नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायत नेताहरूसँग भेटघाट गरेका थिए। जयतु संस्कृतम् आन्दोलनका अगुवा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायत विद्यार्थी नेताहरू पछि प्रजातन्त्र स्थापनाको आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए।
जयतु संस्कृतम् आन्दोलनलाई नेपालको विद्यार्थी चेतना, शैक्षिक अधिकार र लोकतान्त्रिक आन्दोलनको प्रारम्भिक आधारका रूपमा लिने गरिन्छ। संस्कृत शिक्षामा मात्र सीमित राखिएको पाठ्यक्रममा आधुनिक विषय समावेश गर्नुपर्ने मागले पछि राजनीतिक चेतना र नागरिक स्वतन्त्रताको आन्दोलनको रूप लिएको थियो।
आन्दोलनको स्वर्ण वर्षका अवसरमा विसं २०५५ मा संस्कृत क्षेत्रको प्रवर्द्धन र जयतु संस्कृतम् आन्दोलनको ऐतिहासिक स्मरणलाई संस्थागत गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई विधिवत् दर्ता गरिएको थियो। त्यसयता संस्थागत रूपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो।
दिवसका अवसरमा आज बिहान काठमाडौंको दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण गरिएको छ। सो अवसरमा पुष्पगुच्छा अर्पण गर्नुका साथै विश्वशान्तिको संकल्पसहित स्वस्तिवाचन गरिएको थियो।
माल्यार्पण र स्वस्तिवाचनपछि जयतु संस्कृतम् स्तम्भबाट प्रभातफेरी निकालिएको थियो। प्रभातफेरी रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालय, दरबार हाईस्कुलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।





