३ असार २०८३, बुधबार

इटालीमा रेप्कोङ थाङ्का कलाको प्रदर्शनी

काठमाडौं । चीनको राष्ट्रियस्तरको अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत रेप्कोङ थाङ्का कलाको प्रदर्शनी इटालीमा सुरु भएको छ।

हालै इटालीको फ्लोरेन्स एकेडेमी अफ फाइन आर्ट्सको कला अनुसन्धान संस्थानमा ‘हिमालयदेखि पुनर्जागरणसम्म’ शीर्षकमा थाङ्का कलाकार सांग्ये छेरिङको कला प्रदर्शनी आयोजना गरिएको हो। हजारौँ किलोमिटर टाढा आयोजित उक्त प्रदर्शनीले पूर्वीय र पश्चिमी सभ्यताबीच सांस्कृतिक संवादको नयाँ सेतु निर्माण गरेको आयोजकहरूले बताएका छन्।

रेप्कोङ थाङ्का कला चीनको महत्त्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। यस प्रदर्शनीमार्फत उक्त कलालाई युरोपेली पुनर्जागरणको केन्द्र मानिने फ्लोरेन्समा प्रस्तुत गरिएको छ। आयोजकहरूका अनुसार हिमालयी बौद्ध कला परम्परा र इटालीको पुनर्जागरणकालीन कला चेतनाबीच संवाद गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो।

सन् २०२५ चीन र इटालीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५औँ वार्षिकोत्सवको वर्ष थियो। सो अवसरमा दुवै मुलुकले सांस्कृतिक तथा मानवीय आदानप्रदानका विविध कार्यक्रम आयोजना गरेका थिए। सन् २०२६ मा पनि चीन–इटाली सांस्कृतिक आदानप्रदानलाई निरन्तरता दिने क्रममा यो थाङ्का कला प्रदर्शनी गरिएको हो।

यस प्रदर्शनीलाई रेप्कोङ थाङ्का कलाको व्यवस्थित अन्तर्राष्ट्रिय प्रस्तुति मानिएको छ। प्रदर्शनीमा चीनको राष्ट्रियस्तरको अमूर्त सांस्कृतिक सम्पदा रेप्कोङ थाङ्का परम्पराका उत्तराधिकारी कलाकार सांग्ये छेरिङले सिर्जना तथा सङ्कलन गरेका ३६ उत्कृष्ट थाङ्का, १६ परम्परागत गाउ र थाङ्का चित्रकलामा प्रयोग हुने सामग्रीसहितका बहुमूल्य प्रदर्शनी सामग्री राखिएका छन्।

प्रदर्शनीले रेप्कोङ कलाको ऐतिहासिक विकास, धार्मिक तथा सांस्कृतिक मूल्य, लोकपरम्परा, चित्रकला प्रविधि र शिल्पगत निरन्तरताबारे विस्तृत झल्को दिएको छ। थाङ्काको रंग, रेखा, प्रतीक, धार्मिक विषयवस्तु र सूक्ष्म हस्तकला शैलीमार्फत दर्शकहरूले हिमालयी बौद्ध कला परम्पराको गहिरो अनुभूति गर्न पाएका छन्।

इटालीका कला पारखी, विद्यार्थी, अनुसन्धानकर्ता र सांस्कृतिक क्षेत्रका व्यक्तिहरूले प्रदर्शनीलाई पूर्वीय कलाको विशिष्ट सौन्दर्य र आध्यात्मिक गहिराइ बुझ्ने अवसरका रूपमा लिएका छन्। आयोजकहरूले यस्तो सांस्कृतिक आदानप्रदानले दुई देशबीचको जनस्तरीय सम्बन्ध, कला संवाद र सभ्यतागत समझदारीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

रेप्कोङ थाङ्का कला सूक्ष्म रेखांकन, प्राकृतिक रंगको प्रयोग, धार्मिक प्रतीकात्मकता र उच्चस्तरीय हस्तकला कौशलका कारण परिचित छ। यसलाई हिमालयी बौद्ध कला परम्पराको महत्वपूर्ण अभिव्यक्ति मानिन्छ। इटालीमा आयोजित प्रदर्शनीले उक्त परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा थप परिचित गराउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button