३ असार २०८३, बुधबार

‘टी–स्टेटदेखि ओम्नी र वाइडबडीसम्मका फाइल खोल्नुस्’

काठमाडौं । नेकपा एमालेकी उपनेता पद्मा अर्यालले गिरिबन्धु टी–स्टेट, ओम्नी र वाइडबडीलगायत विवादित प्रकरणका फाइल खोल्न सरकारलाई चुनौती दिएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले विपक्षी दललाई लक्षित गर्दै फाइल खोल्ने चेतावनी दिएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाइन्। उनले विवादित भनिएका सबै प्रकरणको निष्पक्ष छानबिन गर्न सरकार तयार हुनुपर्ने बताइन्।

बजेटमाथिको छलफलका क्रममा विपक्षी सांसदहरूले दिएका सुझाव र उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले ‘फाइल खोल्ने’ आशयको अभिव्यक्ति दिएको अर्यालको भनाइ थियो। उनले उक्त अभिव्यक्ति आपत्तिजनक रहेको बताउँदै सरकारले साँच्चिकै फाइल खोल्ने हो भने पहिलो प्राथमिकतामा गिरिबन्धु टी–स्टेट प्रकरण राख्नुपर्ने माग गरिन्।

“अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे कुरा बताउनुभयो, त्यो आपत्तिजनक छ। कसलाई लक्षित गर्नुभयो? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ,” अर्यालले भनिन्, “म भन्न चाहन्छु, टी–स्टेटको फाइल पहिलो नम्बरमा खोलियोस्।”

अर्यालले त्यसपछि विपक्षीसँग जोडिएको भनिएका ओम्नी, वाइडबडीसहित अन्य सबै विवादित फाइल पनि खोल्न सरकारलाई चुनौती दिइन्। उनले छानबिन सरकारकै हातमा भएकाले कुनै पनि विषयलाई राजनीतिक धम्कीका रूपमा प्रयोग नगरी कानुनी प्रक्रियाबाट अघि बढाउनुपर्ने बताइन्।

“विपक्षीसँग जोडिएका ओम्नी हुन् कि वाइडबडी हुन् कि अरू के–के फाइल हुन्, तपाईंहरूको हातमा छ, खोलियोस्,” उनले भनिन्।

अर्यालले विपक्षीमाथि लगाइएका आरोप तथ्य र प्रमाणका आधारमा पुष्टि हुनुपर्ने बताइन्। छानबिनबाट आरोप पुष्टि नभए आरोप लगाउने पक्षले त्यसको राजनीतिक र नैतिक जिम्मेवारी लिन तयार हुनुपर्ने उनको भनाइ थियो।

उनले संसद्मा बजेटको विषयमा उठाइएका प्रश्नको जवाफ तथ्य, नीति र कार्यक्रमका आधारमा दिनुपर्नेमा प्रतिपक्षीलाई लक्षित गरेर फाइल खोल्ने चेतावनी दिनु संसदीय मर्यादा र राजनीतिक संस्कारअनुकूल नभएको टिप्पणी गरिन्।

अर्यालको भनाइपछि प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षबीच भ्रष्टाचार, छानबिन र राजनीतिक आरोप–प्रत्यारोपको बहस थप चर्किने संकेत देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button