१ असार २०८३, सोमबार

गलत काम भएको छ भने छानबिन गर्नुस् : सांसद शाही

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले विगतका सरकारहरूले गलत काम गरेको भए त्यसको छानबिन गर्न वर्तमान सरकारलाई चुनौती दिएका छन्।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शाहीले सरकारका मन्त्रीहरूले आफ्नो कमजोरी ढाकछोप गर्न यसअघिका सरकारमाथि आरोप लगाउने गरेको टिप्पणी गरे। उनले आरोप लगाउनेभन्दा पनि गलत काम भएको भए छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताए।

शाहीले सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूले धम्कीको भाषा प्रयोग गर्न नहुने बताए। उनका अनुसार अघिल्ला सरकारहरूले नियम, कानुन र संविधानविपरीत काम गरेका छन् भने त्यसलाई छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउने जिम्मेवारी वर्तमान सरकारकै हो।

उनले सरकारमा बसेका व्यक्तिहरूले गल्ती गर्न नहुने र गल्ती भएका विषयमा जनतालाई स्पष्ट जवाफ दिन सक्नुपर्ने बताए।

सांसद शाहीले दुई तिहाइको नजिक पुगेको सरकारले आरोप–प्रत्यारोपमा समय खर्च गर्नुभन्दा जनताको अपेक्षाअनुसार देशको विकासमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

उनले स्वदेशमै उत्पादनका स्रोत पहिचान गर्ने, लगानी केन्द्रित गर्ने, रोजगारी सिर्जना गर्ने र विगतमा भएका भ्रष्टाचारका प्रकरणको छानबिन गर्ने विषयमा प्रतिपक्षी दल भए पनि सरकारलाई सहयोग गर्न तयार रहेको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button