स्वास्थ्यमन्त्री मेहतासँग जर्मन प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक सहयोग मन्त्रालयअन्तर्गत दक्षिण एसिया विभाग तथा विकास प्रमुख बारबरा शेफर र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले आज शिष्टाचार भेट गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा भएको भेटमा नेपाल–जर्मनी सम्बन्ध, स्वास्थ्य क्षेत्रको सहकार्य र विकास साझेदारीका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
भेटका क्रममा मन्त्री मेहताले जर्मन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगप्रति प्रशंसा व्यक्त गरिन्। उनले स्वास्थ्य पूर्वाधार निर्माण तथा विभिन्न परियोजनामार्फत जर्मनीले नेपाललाई पुर्याउँदै आएको सहयोग महत्वपूर्ण रहेको बताइन्।
सो अवसरमा नेपालका लागि जर्मनीका राजदूत भोल्जले वर्तमान परिस्थितिमा नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा जर्मनीको सहयोग र साथ निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
भेटघाटमा जर्मनीका तर्फबाट केएफडब्ल्यू, जिआइजेड र पिटीआई नेपालमा कार्यरत संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता थियो।





