काठमाडौं महानगरको नीति तथा कार्यक्रममाथि छलफल सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि औपचारिक छलफल सुरु भएको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार नगरसभामा आगामी आर्थिक वर्षका लागि ११ क्षेत्र समेटिएको १०१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।
राष्ट्रिय सभागृहमा आयोजित काठमाडौं महानगरपालिकाको १९औँ नगरसभा अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरको दीर्घकालीन सोच, उद्देश्य र योजनासहित चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुन बाँकी रहेका बहुवर्षीय आयोजनालाई निरन्तरता दिने विषय समेटिएको छ।
कार्यवाहक प्रमुख डङ्गोलले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताएकी छन्। उनले अन्तरसरकारी समन्वय र साझेदारीबाट मात्र निर्धारित लक्ष्य हासिल गर्न सकिने उल्लेख गरिन्।
नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, प्रविधिमा आधारित सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा, संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हितलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
छलफलका क्रममा नगरसभा सदस्यहरूले नीति तथा कार्यक्रमका प्राथमिकता, कार्यान्वयन क्षमता, स्रोत व्यवस्थापन, बहुवर्षीय आयोजनाको निरन्तरता र महानगरका सेवा प्रवाहसँग सम्बन्धित विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ।





