१ असार २०८३, सोमबार

रास्वपासँग सिपिसीको ‘पार्टी–प्लस’ प्रस्ताव, खनालले दोहोर्याए एक चीन नीतिप्रति प्रतिबद्धता

बेइजिङ — चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमि चीनविरोधी कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने स्पष्ट पारेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग बुधबार भएको भेटवार्ताका क्रममा मन्त्री खनालले सात दशक लामो नेपाल–चीन कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समान व्यवहार र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तमा आधारित रहेको उल्लेख गरे ।

सिपिसी अन्तर्राष्ट्रिय विभागका उपप्रमुख छिन सीको समेत उपस्थिति रहेको सो बैठकमा प्रमुख लिउले रास्वपासँग मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न चिनियाँ पक्ष इच्छुक रहेको बताए । उनले राजनीतिक आदानप्रदान, रणनीतिक सञ्चार, पारस्परिक विश्वास तथा शासन अनुभवको साझेदारीलाई अझ सुदृढ बनाउने चाहना व्यक्त गर्दै विभिन्न क्षेत्रमा सहयोग विस्तारका लागि ‘पार्टी–प्लस’ च्यानलमार्फत सहकार्य बढाउन सकिने धारणा राखे । यसले चीनले नेपालको नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपालाई रणनीतिक महत्त्व दिएको सङ्केत गर्छ ।

जवाफमा मन्त्री खनालले विज्ञान–प्रविधि, जलविद्युत्, कृषि, संस्कृति र पर्यटनजस्ता क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए । उनले रास्वपाले सिपिसीसँगको सम्बन्धलाई महत्त्व दिने र सुशासन तथा भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा चिनियाँ अनुभवबाट सिक्न चाहेको धारणा राखे ।

प्रमुख लिउले सन् २०१९ मा राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणपछि द्विपक्षीय सम्बन्ध रणनीतिक साझेदारीको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै चीन नेपालसँगको सहयोगलाई थप सुदृढ बनाउन इच्छुक रहेको बताए । सोही भेटपछि मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ ।

पछिल्लो राजनीतिक परिवर्तनपछि रास्वपा सत्ता समीकरणको प्रमुख घटक बनेको र परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेको सन्दर्भमा चीनले यस नयाँ शक्तिसँग प्रत्यक्ष संस्थागत सम्बन्ध विस्तारको पहल गर्नु कूटनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button