भारतको अवरोधपछि चिया उद्योग बन्द, किसान र मजदुर मारमा

काठमाडौं — भारततर्फ निकासी हुने नेपाली चियामा देखिएको अवरोधका कारण इलाम र झापाका चिया उद्योग गम्भीर संकटमा परेका छन्। भारतीय पक्षले गुणस्तर परीक्षणसम्बन्धी नयाँ प्रक्रिया लागू गरेपछि नेपाली चियाको निकासी रोकिएको भन्दै चिया उद्योगीहरूले उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्।
भारतको चिया बोर्डले आयातित चियामा नयाँ मापदण्ड र परीक्षण प्रक्रिया अनिवार्य गरेपछि नेपाली चियाको निर्यात प्रभावित भएको उद्योगीहरूको भनाइ छ। पछिल्लो समय भारततर्फ पठाइएको चिया गुणस्तर परीक्षणको प्रक्रियामा रोकिँदा बजारमा बिक्री ठप्प भएको र कारखानामा तयारी चियाको मौज्दात बढेको उनीहरूले जनाएका छन्।
निर्यात अवरुद्ध भएपछि इलामका चिया उद्योगहरूले उत्पादन बन्द गरेका छन् भने झापाका उद्योगहरूले पनि सेवा बन्द गर्ने घोषणा गरेका छन्। उद्योगीहरूका अनुसार भारतले करिब डेढ महिनादेखि नेपाली चिया आयातमा विभिन्न प्रक्रियागत अड्चन सिर्जना गर्दै आएको छ। त्यसको प्रत्यक्ष असर चिया किसान, मजदुर, उद्योगी र निर्यात व्यवसायीमा परेको छ।
चिया उद्योगीहरूले सरकारबाट आवश्यक कूटनीतिक तथा व्यापारिक सहजीकरण हुन नसकेको गुनासो गरेका छन्। उनीहरूका अनुसार नेपाली चियाको मुख्य बजार भारत भएकाले त्यहाँको अवरोध लामो समय कायम रहेमा पूर्वी नेपालका हजारौँ किसान र मजदुरको जीविकोपार्जन संकटमा पर्नेछ।
इलाम र झापा नेपालको प्रमुख चिया उत्पादन क्षेत्र मानिन्छन्। किसानहरूले बगानबाट हरियो पत्ती संकलन गरी कारखानामा बिक्री गर्छन्। कारखानाले त्यसलाई प्रशोधन गरी तयारी चिया बनाउँछ। तयार चियाको ठूलो हिस्सा भारततर्फ निर्यात हुँदै आएको छ। तर, निकासी रोकिँदा कारखानामा मौज्दात बढेको, किसानको भुक्तानी प्रभावित भएको र नयाँ हरियो पत्ती खरिद गर्न नसकिने अवस्था आएको उद्योगीहरूको भनाइ छ।
चिया खेतीलाई मुख्य आयस्रोत बनाएका किसानहरू भारतको पछिल्लो नीतिबाट सबैभन्दा बढी प्रभावित भएका छन्। हरियो पत्ती समयमै नटिपे उत्पादन नष्ट हुने भएकाले उद्योग बन्द हुँदा किसानको दैनिक आम्दानी नै रोकिने जोखिम देखिएको छ। मजदुरहरू पनि रोजगारी गुम्ने चिन्तामा छन्।
चिया व्यवसायीहरूले नेपाली चियामाथि लगाइएका अवरोध हटाउन सरकारलाई तत्काल भारतसँग संवाद गर्न आग्रह गरेका छन्। उनीहरूले गुणस्तर परीक्षणका नाममा नेपाली चियाको नियमित व्यापार रोक्नु दुवै देशबीचको व्यापारिक सम्बन्धका लागि सकारात्मक नभएको बताएका छन्।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौंमा आफ्ना निकट सांसदसँग चिया पसलमा पुगेको भिडियो सामाजिक सञ्जालमा चर्चामा आएको छ। तर, सोही समयमा पूर्वी नेपालका चिया किसान र उद्योगीहरूले निर्यात अवरोधका कारण संकट भोगिरहेको भन्दै सरकारको ध्यान तत्काल त्यसतर्फ जानुपर्ने आवाज उठेको छ।
चिया उद्योग बन्दको अवस्था लम्बिएमा पूर्वी नेपालको ग्रामीण अर्थतन्त्र, किसानको आय, मजदुरको रोजगारी र निर्यात आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ। त्यसैले सरोकारवालाहरूले सरकारबाट तत्काल कूटनीतिक पहल, व्यापारिक सहजीकरण र चिया क्षेत्रका लागि राहतमुखी कदमको अपेक्षा गरेका छन्।





