१ असार २०८३, सोमबार

नेपाली सेनाद्वारा बाँकेका चार विद्यालयमा राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

नेपालगञ्ज, । नेपाली सेनाले बाँके जिल्लाका चार विद्यालयमा एकैसाथ राष्ट्रिय सेवा दल (NCC) तालिम शुभारम्भ गरेको छ। खजुराको ज्ञानोदय नमुना मावि, जेनिथ मावि, कोहलपुरको एभरेस्ट सैनिक मावि र नरैनापुरको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा उक्त तालिम सुरु गरिएको हो।

बज्र दल गण राझा बाँकेका सेनानी ज्योति कुमार कार्कीका अनुसार जिल्लाका चारै विद्यालयका १५/१५ जना छात्र छात्रा गरी कुल १२० जना विद्यार्थीले तालिम लिनेछन्। कक्षा ८, ९ र १० का विद्यार्थीलाई सहभागिता गराइएको छ।

खजुरास्थित ज्ञानोदय नमुना माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सेनानी कार्कीले तालिमको शुभारम्भ गरे। सो अवसरमा उनले अनुशासन नै राष्ट्र सेवाको मूल जग भएको बताउँदै राष्ट्रिय सेवा दलको मुख्य लक्ष्य युवा वर्गलाई अनुशासित, वफादार तथा इमान्दार राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउनु रहेको उल्लेख गरे। भविष्यमा विपद्को समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकको भूमिका निर्वाह गर्न सक्ने युवा दस्ता तयार गर्नु पनि तालिमको उद्देश्य रहेको उनले जानकारी दिए।

राष्ट्रिय सेवा दलअन्तर्गत सि.सं. ५२ जुनियर डिभिजन संस्थागत तालिमको प्रथम प्रवचन दिँदै सेनानी कार्कीले तालिमको कुल अवधि एक सय दिन रहेकोमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामूहिक क्याम्प सञ्चालन गरिने बताए। सरकारी बिदा बाहेक सञ्चालन हुने उक्त तालिम नेपाली सेनाको टोलीले प्रदान गर्नेछ।

उद्घाटन कार्यक्रममा ज्ञानोदय नमुना माविका प्रधानाध्यापक ऋषिराम सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक अभिभावक सङ्घका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button