प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा विनियोजन विधेयक–२०८३ का विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल हुने कार्यसूची छ। आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय र उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ।
बैठकमा सांसदहरूले विभिन्न मन्त्रालय तथा निकायका खर्च रकम घटाउन खर्च कटौती प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैगरी, सभामुखले प्रतिनिधिसभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ।





