लुकाकुको प्रभावकारी प्रवेशपछि बेल्जियमले इजिप्टसँग अंक बाँड्यो

सियाटल । समूह ‘जी’ अन्तर्गत सोमबार राति सियाटल स्टेडियममा भएको रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
खेलमा इजिप्टले पहिलो हाफमै अग्रता लिए पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुको प्रभावकारी भूमिकापछि बेल्जियम बराबरीमा फर्किएको हो। लुकाकु मैदान छिरेको केही सेकेन्डमै बनेको मुभका कारण इजिप्टको पहिलो विश्वकप जित्ने सपना अधुरै रह्यो।
खेलको १९ औं मिनेटमा इमाम आसुरले उत्कृष्ट गोल गर्दै इजिप्टलाई १–० को अग्रता दिलाएका थिए। मोहम्मद सालाहको पासमा आसुरले करिब २० यार्ड टाढाबाट गरेको प्रहार बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवाले रोक्न सकेनन्। आसुरका लागि यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो।
कप्तान सालाहको ३४ औं जन्मदिनका अवसरमा प्रशिक्षक होसाम हसनले उनलाई केन्द्रित भूमिकामा खेलाएका थिए। सुरुदेखि नै सक्रिय देखिएका सालाहले इजिप्टको आक्रमणलाई गति दिएका थिए।
पहिलो हाफमा बेल्जियमले इजिप्टको पोस्टतर्फ धेरै प्रयास गरे पनि निर्णायक अवसर सिर्जना गर्न सकेन। इजिप्ट भने सीमित अवसरमा प्रभावकारी देखिएको थियो। ३३ औं मिनेटमा मोस्ताफा जिकोको प्रहारलाई कोर्टुवाले उत्कृष्ट बचाउ गर्दै बेल्जियमलाई दोस्रो गोलबाट जोगाएका थिए।
दोस्रो हाफमा बेल्जियमले खेलमा दबाब बढायो। ५५ औं मिनेटमा सालाहको हेडरलाई कोर्टुवाले डाइभ गर्दै बचाए। त्यसपछि ओमार मार्मुसको प्रयास पनि पोस्ट नजिकैबाट बाहिरियो।
६६ औं मिनेटमा बेल्जियमले लुकाकुलाई मैदानमा उतारेपछि खेलको दिशा फेरियो। थोमस म्युनियरको क्रसलाई नियन्त्रणमा लिने क्रममा लुकाकुले इजिप्टका डिफेन्डरहरूलाई दबाबमा पारे। सोही क्रममा बल इजिप्टका डिफेन्डर हानीको खुट्टामा लागेर आत्मघाती गोलमा परिणत भयो र बेल्जियम १–१ को बराबरीमा फर्कियो।
सालाह ७५ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। बाँकी समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। बराबरीसँगै बेल्जियम र इजिप्ट दुवैले समूह ‘जी’ मा एक–एक अंक बाँडेका छन्।v





