२ असार २०८३, मंगलवार

उपाधि दाबेदार स्पेन केप भर्डेसँग गोलरहित बराबरीमा रोकियो

एटलान्टा । फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार मानिएको स्पेन नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ।

अमेरिकाको एटलान्टास्थित रंगशालामा भएको खेलमा स्पेनले बल पोजिसन र आक्रमणमा स्पष्ट दबदबा बनाए पनि गोल गर्न सकेन। खेल अवधिभर स्पेनले करिब ७४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै केप भर्डेको पोस्टमा निरन्तर दबाब सिर्जना गरेको थियो।

तर केप भर्डेका गोलकिपर भोजिन्हा टोलीका मुख्य नायक बने। उनले स्पेनका आठवटा सट अन टार्गेटसहित धेरै खतरनाक प्रयासहरू उत्कृष्ट रूपमा बचाउँदै आफ्नो टोलीलाई ऐतिहासिक अंक दिलाए।

सन् २०१० को विश्व विजेता स्पेनले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेमाथि सहज जित निकाल्ने अपेक्षा गरिएको थियो। तर केप भर्डेको अनुशासित रक्षापंक्ति र गोलकिपर भोजिन्हाको प्रभावशाली प्रदर्शनका कारण स्पेनले निर्णायक गोल गर्न सकेन।

स्पेनले खेलको नतिजा आफ्नो पक्षमा पार्न लामिन यामाल र निको विलियम्सजस्ता स्टार खेलाडीलाई मैदानमा उतारे पनि सफलता हात पार्न सकेन।

फिफा वरियतामा तेस्रो स्थानमा रहेको स्पेन ६४औँ स्थानको केप भर्डेसँग अंक बाँड्न बाध्य भएको हो। यो नतिजा विश्वकपको सुरुवाती चरणकै उल्लेखनीय आश्चर्यमध्ये एक बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button