सुदूरपश्चिम सरकारले ल्यायो अहिलेसम्मकै ठूलो ३७ अर्ब ७० करोडको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यो प्रदेश सरकारको अहिलेसम्मकै ठूलो बजेट हो।
सत्ता गठबन्धनभित्र बजेट बाँडफाँट, योजना छनोट र स्रोत व्यवस्थापनका विषयमा देखिएको विवादका कारण बजेट निर्धारित समयमा प्रस्तुत हुन सकेन। लामो छलफल र असहमतिको बीच आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सोमबार मध्यराति प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।
बजेट प्रस्तुत गर्दै मन्त्री धामीले खर्च व्यवस्थापनका लागि आन्तरिक राजस्व, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान तथा चालु आर्थिक वर्षको बचतलाई मुख्य स्रोतका रूपमा लिइएको जानकारी दिए।
बजेटअनुसार प्रदेश सरकारले आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड रुपैयाँ संकलन गर्ने अनुमान गरेको छ। त्यस्तै, संघीय राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९५ लाख ६६ हजार रुपैयाँ र संघीय रोयल्टीबाट सात करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
यसैगरी, वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब छ करोड ३३ लाख रुपैयाँ, चालु आर्थिक वर्षको अनुमानित बचतबाट नौ अर्ब ६५ करोड रुपैयाँ र सशर्त अनुदानबाट छ अर्ब तीन करोड ५८ लाख रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ।
संघीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने प्रदेश सरकारको अनुमान छ।
यस वर्षको बजेट प्रक्रिया भने सुरुदेखि नै विवादित बन्यो। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटको आकार, योजना छनोट र स्रोत बाँडफाँटमा लामो समयसम्म सहमति जुट्न नसक्दा बजेट भाषण राति ढिलो गरी सुरु भएको थियो।
बजेट प्रस्तुतिमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष नेकपा र राप्रपाका प्रदेश सभा सदस्यहरूले बैठक बहिष्कार गरेका थिए। प्रतिपक्षी दलहरूले सरकारले संवैधानिक समयसीमा र संसदीय मर्यादा पालना गर्न नसकेको आरोप लगाएका छन्।





