कञ्चनपुरमा नदीजन्य पदार्थ उत्खननमा रोक

कञ्चनपुर । कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन, ढुवानी तथा निकासी कार्यमा रोक लगाएका छन्।
ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७, संशोधन २०७९ अनुसार हरेक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था छ। सोही कानुनी प्रावधान कार्यान्वयन गर्दै जिल्लाका स्थानीय तहहरूले उत्खननमा रोक लगाएका हुन्।
भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्रका नदी, खोला तथा नालाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी र निकासी बन्द गरिएको जनाएका छन्।
वर्षायाममा नदीको प्राकृतिक बहाव संरक्षण, सम्भावित बाढी तथा डुबानको जोखिम न्यूनीकरण र वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको स्थानीय तहहरूले बताएका छन्।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले कानुनी व्यवस्थाअनुसार नगरपालिका क्षेत्रभित्रका महाकालीसहित सबै नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा रोक लगाइएको बताए।
उनका अनुसार यस अवधिमा कुनै पनि व्यक्ति, फर्म वा कम्पनीले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन वा ओसारपसार गर्न पाउने छैनन्। यसबारे सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई जानकारी गराइसकिएको उनले बताए।
बेदकोट नगरपालिकाले पनि असार १ गतेदेखि भदौ मसान्तसम्म नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट कुनै पनि प्रकारका नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी तथा बिक्री वितरण गर्न नपाइने जनाएको छ।
नगरपालिकाहरूले कानुनविपरीत नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी वा बिक्री वितरण गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।
वर्षायाममा लागू हुने यस्तो व्यवस्थाले नदी तथा जलाधार क्षेत्रको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न र बाढीजन्य जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





