२ असार २०८३, मंगलवार

कृषि, पर्यावरणीय र शहरी क्षेत्रको स्थानिक संरचना अनुकूलन गर्न चिनियाँ प्रधानमन्त्री लीको आह्वान

बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले कृषि, पर्यावरणीय र शहरी क्षेत्रको स्थानिक संरचनालाई समन्वय र अनुकूलन गर्दै मुलुकको कार्यात्मक क्षेत्र वर्गीकरण प्रणालीलाई थप सुधार गर्न आह्वान गरेका छन्।

कार्यात्मक क्षेत्र रणनीतिको कार्यान्वयन सुदृढ गर्ने र समन्वित क्षेत्रीय विकास प्रवर्द्धन गर्ने विषयमा आयोजित राज्य परिषद्को सामूहिक अध्ययन सत्रको अध्यक्षता गर्दै लीले सोमबार यस्तो बताएका हुन्।

लीका अनुसार यस्ता प्रयासले स्पष्ट रूपमा परिभाषित कार्य, परस्पर पूरक विशेषता र उच्च गुणस्तरीय विकासमा आधारित भू–क्षेत्रीय विकास तथा संरक्षणको नयाँ ढाँचा निर्माण गर्न सहयोग पुर्‍याउनुपर्छ। यसले समन्वित क्षेत्रीय विकास प्रवर्द्धन र प्रमुख उत्पादक शक्तिको स्थानिक संरचना अनुकूलनका लागि बलियो आधार प्रदान गर्ने उनको भनाइ छ।

उनले कार्यात्मक क्षेत्र वर्गीकरणलाई अनुकूलन गर्दै स्थानिक शासनलाई अझ लक्षित र सूक्ष्म बनाउनुपर्नेमा जोड दिए। साथै, फरक–फरक क्षेत्रलाई भिन्न तर समन्वित विकासको मार्गमा अगाडि बढाउन कार्यात्मक क्षेत्र वर्गीकरणअनुकूल नीति तथा संस्थागत प्रणाली सुधार गर्नुपर्ने बताए।

समन्वित क्षेत्रीय विकास रणनीति, प्रमुख क्षेत्रीय रणनीति र नयाँ शहरीकरण रणनीति सबै भू–क्षेत्रीय स्थानमा आधारित प्रमुख राष्ट्रिय रणनीति भएको उल्लेख गर्दै लीले कार्यात्मक क्षेत्र रणनीतिलाई अन्य प्रमुख राष्ट्रिय रणनीतिसँग समन्वित रूपमा कार्यान्वयन र एकीकृत गर्नुपर्ने बताए।

प्रधानमन्त्री लीले कार्यात्मक क्षेत्र रणनीतिको कार्यान्वयन संयन्त्र सुधार गर्न, विभाग र स्थानीय तहहरूबीच समन्वय सुदृढ गर्न, सहायक प्रणालीहरू सुधार गर्न, नीतिगत एकीकरण बढाउन र यस क्षेत्रमा थप सहकार्यात्मक शक्ति निर्माण गर्न पनि जोड दिए।

सत्रमा चिनियाँ विज्ञान प्रतिष्ठानका प्राज्ञ फान चेले व्याख्यान दिएका थिए। उपप्रधानमन्त्रीहरू हे लिफङ र लिउ गुओझोङ तथा राज्य परिषद्की सदस्य शेन यिछिनले पनि मन्तव्य दिएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button