२ असार २०८३, मंगलवार

हरियाली तर्फ फर्किंदै टुँडिखेल

काठमाडौँ । राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेललाई हराभरा बनाउने उद्देश्यसहित दुबो रोप्ने काम अघि बढाइएको छ। ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत खुला मैदानमा दुबो रोप्ने, माटो व्यवस्थापन गर्ने र हरियाली संरक्षण गर्ने काम भइरहेको हो।

काठमाडौं महानगरपालिका, नेपाली सेना र सम्बन्धित निकायहरूको समन्वयमा सञ्चालन भइरहेको कार्यक्रममा टुँडिखेलको खुला क्षेत्रमा क्रमशः दुबो विस्तार गरिँदैछ। लामो समयदेखि धुलो उड्ने, घाँसविहीन र केही स्थानमा उजाड देखिने मैदानलाई हरियाली सार्वजनिक क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले काम अघि बढाइएको हो।

कार्यक्रमअन्तर्गत मैदान सम्याउने, उर्वर माटो राख्ने र त्यसपछि दुबो रोप्ने काम भइरहेको छ। यसले टुँडिखेलको सौन्दर्य अभिवृद्धि गर्नुका साथै धुलो नियन्त्रण र वातावरणीय सन्तुलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

टुँडिखेल ऐतिहासिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्त्वपूर्ण खुला क्षेत्र मानिन्छ। यहाँ राष्ट्रिय समारोह, सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि तथा सर्वसाधारणको बिहान–बेलुकाको व्यायाम, घुमफिर र मनोरञ्जनका गतिविधि हुँदै आएका छन्।

पछिल्ला वर्षहरूमा टुँडिखेलको संरक्षण, सौन्दर्यीकरण र मौलिक स्वरूप जोगाउने विषयमा सरोकारवाला निकाय तथा नागरिकस्तरबाट चासो व्यक्त हुँदै आएको छ। खुला क्षेत्रको संरक्षणसँगै सहरी वातावरण सुधार गर्ने उद्देश्यले हरियाली विस्तारलाई प्राथमिकता दिइएको हो।

सम्बन्धित निकायका अनुसार टुँडिखेललाई व्यवस्थित, स्वच्छ र हराभरा सार्वजनिक स्थलका रूपमा विकास गर्ने लक्ष्यसहित काम चरणबद्ध रूपमा अघि बढाइनेछ। कार्यक्रम पूरा भएपछि सर्वसाधारणले राजधानीको मध्यभागमै थप हरियाली, खुला र रमणीय वातावरण उपयोग गर्न पाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button