चुनावी समीक्षासँगै पार्टी पुनर्गठन अभियानमा एमाले

काठमाडौं । फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ नौ सिटमा सीमित बनेपछि नेकपा एमालेले चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियान अघि बढाएको छ।
एमालेले निर्वाचन परिणामको समीक्षा, संगठनात्मक कमजोरीको पहिचान र सुधारका लागि प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रम सुरु गरेको हो। मंगलबार कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रम विराटनगरमा आयोजना गरिएको छ।
पार्टीले संगठनात्मक पुनर्संरचना, कार्यशैली सुधार र निर्वाचन परिणामको समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन गरेको छ।
विराटनगरमा आयोजित कार्यक्रममा कार्यदल संयोजक थापासहित उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायत नेताहरू सहभागी छन्। एमाले अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी भएका छन्।
सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य, १४ वटै जिल्लाका पदाधिकारी र जनवर्गीय संगठनका प्रतिनिधि सहभागी छन्।
निर्वाचनमा कमजोर परिणाम आएपछि एमालेभित्र संगठनात्मक संरचना, नेतृत्व शैली, कार्यकर्ता परिचालन र पार्टीको कार्यपद्धतिबारे गम्भीर समीक्षा गर्नुपर्ने आवाज उठ्दै आएको छ। पार्टी नेतृत्वले तलबाट आउने सुझावलाई संगठन सुधारको आधार बनाउने बताएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमा सबैभन्दा ठूलो धक्का एमालेले नै व्यहोरेको स्वीकार गरे। उनले आफ्नो नेतृत्वको सरकारले विकास, सुशासन र सामाजिक क्षेत्रमा काम गरे पनि त्यसको प्रभावकारी प्रचार गर्न नसकिएको बताए।
ओलीले पार्टीविरुद्ध भएका प्रचारको प्रतिवाद गर्न नसकिएको र सरकारले गरेका कामबारे जनतालाई पर्याप्त जानकारी दिन नसक्दा निर्वाचनमा असर परेको बताए। उनले पार्टीको जनशक्तिलाई डिजिटल शक्तिका रूपमा प्रभावकारी ढंगले परिचालन गर्न नसकिएको पनि स्वीकार गरे।
उनले विरोधीहरूले भ्रम फैलाएर जनमत प्रभावित पारेको दाबी गरे। ओलीले २०८२ भदौ २४ गतेको घटनालाई योजनाबद्ध भन्दै त्यसका आधारमा एमाले र पार्टी नेतृत्वलाई बदनाम गर्ने प्रयास भएको टिप्पणी गरे।
ओलीले संविधान निर्माणदेखि नै विभिन्न अवरोधबीच एमाले अघि बढेको उल्लेख गर्दै भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउने तथा सामाजिक विकासका क्षेत्रमा पार्टी नेतृत्वको सरकारले महत्वपूर्ण भूमिका खेलेको बताए।
एमालेले प्रदेश र जिल्लास्तरबाट प्राप्त सुझावका आधारमा संगठनात्मक संरचना, कार्यपद्धति र नेतृत्व विकासका क्षेत्रमा आवश्यक सुधार गर्ने जनाएको छ।
आगामी महाधिवेशन तथा स्थानीय र प्रदेश तहका निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई थप प्रभावकारी, गतिशील र जनमुखी बनाउने तयारी गरिएको एमाले नेताहरूले बताएका छन्।





