३ असार २०८३, बुधबार

क्युबामाथिको अमेरिकी प्रतिबन्धले मानवीय क्षति बढाएको क्युबाडिबेटको दाबी

हवाना । क्युबामाथि अमेरिकाले लगाएको प्रतिबन्धले अपूरणीय मानवीय क्षति पुर्‍याएको र देशको सामाजिक विकासको मुख्य अवरोध बनेको क्युबाली अनलाइन समाचार माध्यम क्युबाडिबेटले जनाएको छ।

सेन्टर फर इकोनोमिक एन्ड पोलिसी रिसर्चको अध्ययन उद्धृत गर्दै क्युबाडिबेटले क्युबामा शिशु मृत्युदर सन् २०१८ मा प्रतिहजार जीवित जन्ममा ४ रहेकोमा सन् २०२५ मा ९.९ पुगेको जनाएको छ। यो करिब १४८ प्रतिशतको वृद्धि हो।

प्रतिवेदनका अनुसार उक्त अवधिमा शिशु मृत्युदरमा देखिएको तीव्र वृद्धिको मुख्य कारण सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालदेखि क्युबामाथि कडाइ गरिएको अमेरिकी प्रतिबन्ध हुन सक्ने उल्लेख गरिएको छ।

क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज र उप–जनस्वास्थ्यमन्त्री कारिल्दा पेनासहितका अधिकारीहरूले पछिल्लो समय क्युबाको स्वास्थ्य प्रणालीमा अमेरिकी नाकाबन्दीले पारेको प्रभावको आलोचना गरेका छन्। विशेषगरी यस वर्ष जनवरी २९ र मे १ मा जारी कार्यकारी आदेशहरूको प्रभावप्रति उनीहरूले आपत्ति जनाएका छन्।

क्युबाडिबेटले उद्धृत गरेको आधिकारिक तथ्यांकअनुसार अमेरिकाले टापु राष्ट्रमा तेल आपूर्तिमा प्रतिबन्ध लगाउनुका साथै अन्य प्रतिबन्ध कडा बनाएपछि क्युबामा क्यान्सर भएका बालबालिकाको जीवनरक्षा दर ८५ प्रतिशतबाट घटेर ६५ प्रतिशतमा झरेको छ।

हवानाले अमेरिकी कदमलाई “सामूहिक सजाय” का रूपमा व्याख्या गर्दै आएको छ। क्युबाडिबेटका अनुसार यी कदमले शल्यक्रियाको प्रतीक्षामा रहेका एक लाखभन्दा बढी बिरामीलाई असर गरेको छ, जसमा ५ हजार १५२ क्यान्सर बिरामी र करिब १२ हजार बालबालिका छन्।

क्युबाको जनस्वास्थ्य मन्त्रालयले हेमोडायलाइसिस गराइरहेका २ हजार ८८८ बिरामीमा पनि प्रतिकूल असर परेको जनाएको छ। उनीहरूको उपचार आवश्यक सामग्री, पानी र विशेष उपकरणमा निर्भर हुने मन्त्रालयको भनाइ छ।

प्रतिबन्धका कारण क्युबालाई खोप, आधारभूत औषधि र क्यान्सरजस्ता रोगको परीक्षण उपकरण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उपकरण र वित्तीय स्रोत जुटाउन कठिन भएको क्युबाडिबेटले जनाएको छ।

अमेरिकी तेल प्रतिबन्धले क्युबाको ऊर्जा संकट पनि गहिरिएको छ। हवानामा विद्युत् कटौती २० घण्टाभन्दा बढी पुगेको र दैनिक करिब २ हजार मेगावाट विद्युत् अभाव रहेको समाचारमा उल्लेख छ।

सन् २०२६ मा हालसम्म क्युबाले केवल एउटा इन्धन आपूर्ति पाएको छ। रूसी ट्याङ्कर अनातोली कोलोडकिनले १ लाख मेट्रिक टन कच्चा तेल बोकेर क्युबामा आपूर्ति गरेको जनाइएको छ।

इन्धन संकटका कारण उत्पादन केन्द्रबाट सहरसम्म ढुवानी अवरुद्ध हुँदा एक लाखभन्दा बढी बालबालिका सरकारी अनुदानको दूधबाट वञ्चित भएको खाद्य उद्योगका अधिकारीहरूलाई उद्धृत गर्दै क्युबाडिबेटले जनाएको छ।

यसबाहेक ६३ लाख अमेरिकी डलर बराबरका अत्यावश्यक सामग्री बोकेका १७० कन्टेनर देशभर वितरण हुन नसकेको पनि जनाइएको छ।

संयुक्त राष्ट्र विकास कार्यक्रम, युनिसेफ र विश्व खाद्य कार्यक्रमलगायत मानवीय संस्थाहरूले पनि क्युबामा खाद्य सहायता बोकेका कन्टेनर वितरणमा कठिनाइ भएको जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button