युद्ध अन्त्यसम्बन्धी समझदारीपत्रमा अमेरिका र इरानद्वारा विद्युतीय हस्ताक्षर

वासिङ्टन/तेहरान । अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको समझदारीपत्रमा विद्युतीय रूपमा हस्ताक्षर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन्।
रिपोर्टहरूका अनुसार उक्त समझदारीपत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र इरानी संसद्का सभामुख मोहम्मद बाकेर गालिबाफले भर्चुअल रूपमा हस्ताक्षर गरेका हुन्।
एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले समझदारीपत्रका सर्तहरू आगामी २४ देखि ४८ घण्टाभित्र सार्वजनिक गरिने जनाएका छन्।
उक्त समझदारीपत्रमा जुन १९ मा स्वीट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
यसअघि सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत तेल बोकेका जहाजहरू होर्मुज जलडमरूबाट बाहिर निस्कन थालेको बताएका थिए।
ट्रम्पले आइतबार इरानसँग सम्झौता भएको बताएका थिए। त्यसअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी सार्वजनिक गरेका थिए।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध व्यापक आक्रमण गरेका थिए। उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको रिपोर्टहरूमा उल्लेख गरिएको छ। त्यसपछि क्षेत्रीय द्वन्द्व चर्किएको र मध्यपूर्वको सुरक्षा परिदृश्यमा ठूलो परिवर्तन आएको बताइएको छ।
द्वन्द्वका कारण हजारौँ मानिसको मृत्यु हुनुका साथै विश्व ऊर्जा बजारमा समेत गम्भीर असर परेको रिपोर्टहरूमा उल्लेख छ।





