२ असार २०८३, मंगलवार

भारी प्रदर्शनबीच फ्रान्सको एभियनमा जी–७ शिखर सम्मेलन सुरु

एभियन । पूर्वी फ्रान्सको एभियन शहरमा सोमबारदेखि जी–७ शिखर सम्मेलन सुरु भएको छ। तीनदिने सम्मेलन व्यापक प्रदर्शन र कडा सुरक्षा व्यवस्थाबीच सुरु भएको हो।

सम्मेलनको कार्यसूचीमा रूस–युक्रेन द्वन्द्व, मध्यपूर्व तनाव, सन्तुलित तथा दिगो आर्थिक वृद्धि र कृत्रिम बौद्धिकता विकासलगायत विषय समेटिएका छन्।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सोमबार सामाजिक सञ्जालमार्फत सम्मेलनका क्रममा फ्रान्सले आफ्ना “मित्र र साझेदारहरू” सँग मिलेर युक्रेन र रूसबीच युद्धविरामका लागि प्रयास गर्ने बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार अपराह्न एभियन आइपुग्ने कार्यक्रम रहेको जनाइएको छ।

सम्मेलनअघि आइतबार स्विट्जरल्यान्डको जेनेभामा ठूलो प्रदर्शन भएको थियो। विभिन्न समूह र संगठन सम्मिलित “नो जी–७” गठबन्धनले उक्त प्रदर्शन आयोजना गरेको थियो। आयोजकहरूले प्रदर्शनलाई “फासिवाद र साम्राज्यवाद” विरुद्धको प्रतिरोधका रूपमा व्याख्या गरेका छन्।

फ्रान्सेली पत्रिका ले मोन्दले प्रहरी स्रोतलाई उद्धृत गर्दै आइतबार साँझ करिब ७ बजे झन्डै २० हजार प्रदर्शनकारी सहभागी भएको जनाएको छ। जेनेभास्थित संयुक्त राष्ट्रसंघ मुख्यालय नजिक प्रदर्शनकारी र प्रहरीबीच केही झडपसमेत भएको रिपोर्ट गरिएको छ।

सम्भावित लुटपाट वा तोडफोडबाट जोगिन जेनेभाको पुरानो शहरका व्यस्त व्यापारिक क्षेत्र र सरकारी भवन नजिकका केही पसलहरूले गत सातादेखि नै आफ्ना अगाडिका भाग काठका प्यानलले छोपेका थिए।

सन् २००३ मा पनि एभियनमा जी–७ शिखर सम्मेलन हुँदा जेनेभामा ठूलो दंगा भड्किएको थियो।

स्विट्जरल्यान्डले पछिल्ला दिनमा सुरक्षा व्यवस्था कडा बनाएको छ। स्विस अधिकारीहरूले करिब चार हजार सैनिक परिचालन गरेको र फ्रान्ससँगका ३५ मध्ये अधिकांश सीमा नाका बन्द गरिएको जनाएका छन्। फ्रान्सले पनि सम्मेलनका लागि करिब १६ हजार प्रहरी र जेन्डार्म परिचालन गरेको बताइएको छ।

स्विस पत्रिका ले ताँले सम्मेलनको आलोचना गर्दै जी–७ ले अब वर्तमान विश्व भू–राजनीतिक परिदृश्यलाई प्रतिनिधित्व नगर्ने र सम्मेलनले स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित बनाएको टिप्पणी गरेको छ।

जी–७ मा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, क्यानडा र जापान सदस्य छन्। यस वर्ष समूहको घुम्ती अध्यक्षता फ्रान्सले गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button