चोटका कारण नेयमारले ब्राजिलका समूह चरणका बाँकी खेल गुमाउन सक्ने

ब्राजिलका स्टार फरवार्ड नेयमारले जारी फिफा विश्वकपका समूह चरणका बाँकी खेल गुमाउने सम्भावना बढेको छ। पिंडुलाको मांसपेशीमा चोट बोकेका ३४ वर्षीय नेयमार ब्राजिलको दोस्रो समूह खेल हाइटीविरुद्धको तयारीअघि पनि टोलीको पूर्ण प्रशिक्षणमा फर्किएका छैनन्। ESPN का अनुसार ब्राजिलले उनलाई समूह चरणमा जोखिम नलिई नकआउट चरणका लागि तयार पार्ने योजना बनाइरहेको छ।
नेयमारले मे १७ मा सान्तोसका लागि खेल्दा चोट बोकेका थिए। फिफाका अनुसार उनी ग्रेड–टु काल्फ इन्जुरीका कारण दुईदेखि तीन साता मैदानबाहिर रहने अनुमान गरिएको थियो। त्यसयता उनी ब्राजिल टोलीसँग नियमित प्रशिक्षणमा सहभागी हुन सकेका छैनन्।
ब्राजिलियन फुटबल महासंघले पछिल्लो मेडिकल परीक्षणको विस्तृत नतिजा औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन। तर, टोलीको मेडिकल स्टाफले उनलाई पूर्ण रूपमा निको भएपछि मात्र मैदानमा फर्काउने पक्षमा रहेको बताइएको छ। त्यसैले नेयमारले हाइटी र जुन २४ मा हुने स्कटल्यान्डविरुद्धका खेल गुमाउन सक्ने सम्भावना छ।
नेयमार ब्राजिलको पहिलो खेलमा बेन्चमा उपस्थित थिए, तर खेल पोसाकमा थिएनन्। उक्त खेलमा ब्राजिल मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको थियो। त्यही समूहमा स्कटल्यान्डले हाइटीलाई १–० ले हराएको थियो।
प्रशिक्षक कार्लो एन्चेलोटीले नेयमार चाँडै टोलीमा फर्किने प्रयासमा रहेको बताएका छन्। उनका अनुसार नेयमारको प्राविधिक क्षमता, अनुभव र युवा खेलाडीलाई दिने प्रेरणाका कारण उनलाई टोलीमा राखिएको हो। तर, ब्राजिलले उनको पुनरागमनमा हतार नगर्ने संकेत दिएको छ।
नेयमारको अनुपस्थितिले ब्राजिलको समूह चरणको योजनामा असर पार्न सक्ने देखिए पनि पाँचपटकको विश्वविजेता टोली नकआउट चरणमा स्थान बनाउने लक्ष्यसहित अघि बढिरहेको छ।





