नेपालको समृद्धि यात्रामा सन्तुलित छिमेक नीति र लगानीको खोजी

बेइजिङ — चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको आर्थिक विकासका लागि भारत र चीन दुवैसँग सन्तुलित, व्यवहारिक र परिणाममुखी सम्बन्ध आवश्यक रहेको बताएका छन्। बेइजिङस्थित नेपाली दूतावासमा रोयटर्ससँगको अन्तर्वार्तामा उनले नेपाल विदेशी लगानीका लागि खुला रहेको र नयाँ सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा उत्पादन विस्तारलाई प्राथमिकतामा राखेको बताए।
खनालले नेपालको पहिलो प्राथमिकता अर्थतन्त्रलाई तीव्र गतिमा अघि बढाउने रहेको उल्लेख गर्दै निर्यात बढाउने, आयात प्रतिस्थापन गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले चिनियाँ प्रविधि, अनुभव र लगानी उपयोग गर्न चाहेको बताए। उनका अनुसार कृषि, स्वास्थ्य, पर्यटन, विज्ञान तथा प्रविधि अनुसन्धानका क्षेत्रमा चिनियाँ समकक्षी वाङ यी र वरिष्ठ चिनियाँ अधिकारीहरूसँग छलफल भएको छ।
चीनसँग नेपालको व्यापार घाटा ठूलो रहेको स्वीकार्दै खनालले बेइजिङले आठ हजारभन्दा बढी वस्तुमा दिएको शून्य भन्सार सुविधाको पर्याप्त उपयोग हुन नसकेको बताए। उनले पछिल्ला ३५ वर्षमा पटकपटक सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरता कमजोर भएको र त्यसले व्यापारिक अवसरलाई सीमित बनाएको धारणा राखे।
रोयटर्सका अनुसार खनालले नेपालले भारतलाई ऊर्जा निर्यातको महत्वपूर्ण बजारका रूपमा र चीनलाई पर्यटकको प्रमुख स्रोतका रूपमा हेरेको बताएका छन्। भारत भ्रमणपछि चीन पुगेका खनालको भ्रमणलाई नयाँ सरकारले दुवै छिमेकीसँग आर्थिक सहकार्य र कूटनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।
भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई आफ्नो छिमेक कूटनीतिमा महत्वपूर्ण स्थान दिने चीनको नीति दोहोर्याएका छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनले नेपालको सार्वभौमिकता, स्थिरता, विकास र समृद्धिमा समर्थन जनाउँदै राजनीतिक विश्वास बढाउने, व्यावहारिक सहकार्य गहिर्याउने र उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्य अघि बढाउने इच्छा व्यक्त गरेको छ।
चीनले ऊर्जा, सडक, बन्दरगाह, उड्डयन तथा अन्य पूर्वाधार क्षेत्रमा सहयोगलाई निरन्तरता दिने बताएको रोयटर्सले जनाएको छ। यद्यपि, बीआरआईअन्तर्गतका केही पूर्वाधार परियोजनामा वित्तीय मोडालिटीका विषयमा मतभेद रहेकाले कार्यान्वयनमा ढिलाइ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
इन्टरनेट सेवा विस्तारका विषयमा खनालले एलन मस्कको स्टारलिंक र चिनियाँ कम्पनी हुवावेइसँग सरकार सक्रिय छलफलमा रहेको पुष्टि गरेका छन्। तर, कुनै निर्णय भइसकेको छैन र त्यसका लागि विद्यमान कानुन तथा नियामक व्यवस्थामा सुधार आवश्यक पर्ने उनले बताए।
नेपालमा आएको नयाँ राजनीतिक परिवर्तनलाई चीनले कसरी हेरेको छ भन्ने प्रश्नमा खनालले प्रत्यक्ष राजनीतिक टिप्पणीभन्दा आर्थिक प्राथमिकतालाई अघि सारे। उनले नयाँ सरकारको मुख्य एजेन्डा लगानी आकर्षित गर्ने, आर्थिक विकासलाई गति दिने र नेपाललाई व्यवसायका लागि विश्वसनीय गन्तव्यका रूपमा प्रस्तुत गर्ने रहेको बताए।





