३ असार २०८३, बुधबार

नेपालगञ्ज म्याराथनलाई विश्व मञ्चमा प्रतिष्ठित सम्मान

नेपालगञ्ज — नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी एसोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेस, एम्सको २५औँ वर्ल्ड कंग्रेसमा सहभागी हुन नर्वेको ट्रोम्सो प्रस्थान गरेका छन्। कंग्रेसमा धारा नेपालगञ्ज म्याराथनलाई यस वर्षको प्रतिष्ठित “एम्स सोसल अवार्ड” प्रदान गरिने भएको छ।

विश्वभरका म्याराथन तथा दूरी दौड आयोजकमध्ये सामाजिक योगदानका आधारमा छनोट हुने यो अवार्ड नेपालगञ्ज म्याराथनका लागि अन्तर्राष्ट्रिय पहिचानको महत्वपूर्ण उपलब्धि मानिएको छ। शान्ति, सद्भाव, सामाजिक जागरण, खेलकुद प्रवर्द्धन र समुदायलाई जोड्ने प्रयासका कारण नेपालगञ्ज म्याराथन उक्त सम्मानका लागि छनोट भएको हो।

नर्वेको ट्रोम्सोमा हुने एम्स वर्ल्ड कंग्रेसमा नेपालगञ्ज म्याराथनका तर्फबाट संस्थापक ठकुरीले अवार्ड ग्रहण गर्ने कार्यक्रम छ। उनले कंग्रेसकै अवसरमा नेपालमा एम्सको २६औँ वर्ल्ड कंग्रेस आयोजना गर्ने दाबीसमेत प्रस्तुत गर्ने तयारी भएको बताएका छन्। उनका अनुसार नेपालले यस्तो अन्तर्राष्ट्रिय खेल सम्मेलन आयोजना गर्ने अवसर पाएमा त्यो देशकै खेल पर्यटन र अन्तर्राष्ट्रिय प्रतिष्ठाका लागि ऐतिहासिक उपलब्धि हुनेछ।

नेपालगञ्ज म्याराथन २०७२ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको छ। विस्तृत शान्ति सम्झौताको स्मरणमा सुरु गरिएको यो दौड नेपालगञ्जलाई शान्ति, एकता र सद्भावको सन्देशसँग जोड्ने अभियानका रूपमा अघि बढाइएको थियो। बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक संरचना भएको नेपालगञ्जमा म्याराथनलाई सामाजिक एकता र सकारात्मक सन्देश प्रवाह गर्ने माध्यमका रूपमा विकास गरिएको छ।

कोभिड महामारीको समयमा पनि नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै नेपालगञ्ज म्याराथनले टोकियो ओलम्पिकका लागि खेलाडी छनोट प्रतियोगिता आयोजना गरेको थियो। हाल यससँगै गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन, नेपालगञ्ज १० के नाइट रन, काठमाडौं २५ किमी हेरिटेज रेस र कर्णाली हाफ म्याराथनजस्ता भगिनी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

जलवायु परिवर्तनबारे बालबालिकामा सचेतना फैलाउने, रात्रिकालीन दौडमार्फत सुरक्षित शहरको सन्देश दिने, नेपाली सम्पदाको अन्तर्राष्ट्रिय प्रचार गर्ने र दुर्गम भूगोललाई खेलकुदसँग जोड्ने उद्देश्यसहित नेपालगञ्ज म्याराथनले आफ्नो दायरा विस्तार गर्दै आएको छ। यसले खेलकुदलाई प्रतिस्पर्धाको सीमामा मात्र नराखी सामाजिक संवाद, पर्यटन, वातावरण र समुदाय निर्माणसँग जोड्ने प्रयास गरेको आयोजक पक्षको भनाइ छ।

एम्स सोसल अवार्ड यसअघि ग्रेट इथियोपियन रन, टोकियो म्याराथन, म्युनिख म्याराथन, बेलग्रेड म्याराथन र हार्मोनी जेनेभा म्याराथन फर युनिसेफजस्ता अन्तर्राष्ट्रिय दौड आयोजकहरूले प्राप्त गरेका थिए। यही सूचीमा नेपालगञ्ज म्याराथनको नाम थपिनुलाई नेपाली खेलकुद र विशेषगरी मोफसलबाट सुरु भएको दौड संस्कृतिका लागि उल्लेखनीय अन्तर्राष्ट्रिय सफलता मानिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button