एम्बाप्पेको दुई गोलमा फ्रान्सको विजयी सुरुआत

काठमाडौं — फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
अमेरिकाको न्यूयोर्क/न्यू जर्सी स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा खेलले तीव्रता पाएपछि फ्रान्सले तीन गोल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो।
फ्रान्सका लागि कप्तान किलियन एम्बाप्पेले ६६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता २–० मा पुर्याए।
खेलको अतिरिक्त समयमा सेनेगलका इब्राहिम एम्बायेले गोल गर्दै अन्तर घटाए। तर त्यसलगत्तै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३–१ को जित दिलाए।
यो जितसँगै फ्रान्सले समूह ‘आई’मा बलियो सुरुआत गरेको छ। सेनेगलले भने हारबाट विश्वकप यात्रा सुरु गरेको छ। सन् २००२ को विश्वकपमा सेनेगलले फ्रान्सलाई हराएको ऐतिहासिक स्मृतिका कारण यो खेललाई विशेष चासोका साथ हेरिएको थियो।
यसै समूहमा नर्वे र इराक पनि प्रतिस्पर्धा गर्दैछन्। समूह ‘जे’ अन्तर्गत अर्जेन्टिना र अल्जेरिया तथा अष्ट्रिया र जोर्डनबीचका खेलहरू पनि आजै हुने तालिका छ।





