३ असार २०८३, बुधबार

ओटिटी सेवा दर्ता र अनुमति प्रणालीमा

काठमाडौँ — सरकारले इन्टरनेटमार्फत अडियो, भिडियो तथा डिजिटल सामग्री उपलब्ध गराउने ओभर–द–टप अर्थात् ओटिटी प्लेटफर्मलाई दर्ता, अनुमति र नियमनको स्पष्ट कानुनी प्रक्रियामा ल्याउने व्यवस्था अघि बढाएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ का अनुसूचीहरूमा संशोधन गर्दै नेपालभित्र सेवा दिने स्वदेशी तथा विदेशी ओटिटी सेवा प्रदायकका लागि अनुमति, डाउनलिङ्क, सिग्नल वितरण र शुल्कसम्बन्धी व्यवस्था स्पष्ट पारेको हो। संशोधित व्यवस्थाअनुसार नेपालमा सामग्री प्रसारण गर्ने वा डिजिटल सेवा उपलब्ध गराउने ओटिटी प्लेटफर्महरूले तोकिएको प्रक्रिया पूरा गरी अनुमति लिनुपर्नेछ।

नयाँ व्यवस्थाले विदेशी ओटिटी कार्यक्रम तथा प्लेटफर्मको विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने प्रावधान राखेको छ। विदेशी कार्यक्रम उत्पादकले आफ्नो मुलुकमा उत्पादन गरेको ओटिटी डिजिटल सामग्री नेपालमा डाउनलिङ्क गरी प्रसारण गर्न प्रतिप्लेटफर्म १० लाख रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, डाउनलिङ्क अनुमति पाइसकेको विदेशी ओटिटी डिजिटल कार्यक्रमको सिग्नल वितरणका लागि प्रतिप्लेटफर्म २५ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

ओटिटी प्रसारण सेवा सञ्चालनका लागि एक करोड रुपैयाँ शुल्क तोकिएको छ। विदेशी कार्यक्रमको प्रसारण अधिकार वा विदेशी कार्यक्रमको प्रत्यक्ष प्रसारण स्वीकृतिका लागि पाँच लाख रुपैयाँ शुल्क लाग्नेछ। अनलाइन रेडियो सञ्चालनका लागि ५० हजार रुपैयाँ इजाजतपत्र शुल्क तोकिएको छ।

डिजिटल प्रविधिको तीव्र विस्तारसँगै नेपालमा नेटफ्लिक्स, युट्युब, अमेजन प्राइम भिडियोलगायत इन्टरनेटमा आधारित सामग्री सेवा प्रयोग बढ्दै गएको छ। तर यस्ता सेवाको दर्ता, कर, सामग्री अनुगमन, उपभोक्ता अधिकार र स्थानीय प्रसारण उद्योगसँगको प्रतिस्पर्धाबारे लामो समयदेखि कानुनी अस्पष्टता देखिँदै आएको थियो।

मन्त्रालयका अनुसार डिजिटल प्रसारण सेवा अब परम्परागत प्रसारण माध्यमजत्तिकै प्रभावकारी र व्यापक बन्दै गएकाले यसलाई राज्यको कानुनी संरचनाभित्र राख्न आवश्यक भएको हो। नयाँ व्यवस्थापछि नेपालमा सेवा सञ्चालन गर्ने स्वदेशी तथा विदेशी ओटिटी प्लेटफर्मले दर्ता, अनुमति र नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ।

नियमन लागू भएपछि डिजिटल सामग्री वितरणमा पारदर्शिता, राजस्व सङ्कलन, सामग्रीको वर्गीकरण, उपभोक्ता अधिकार संरक्षण र स्थानीय कानुनअनुसार प्रसारण अनुगमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। ओटिटी सेवा भनेको इन्टरनेटका माध्यमबाट स्मार्टफोन, स्मार्ट टिभी, ट्याब्लेट, कम्प्युटरलगायत उपकरणमा मागअनुसार अडियो, भिडियो र अन्य डिजिटल सामग्री उपलब्ध गराउने प्रणाली हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button