मेसीको कीर्तिमानी खेलसँगै अर्जेन्टिनाको उपाधि रक्षा अभियान सुरु हुँदै

काठमाडौँ — फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियाको सामना गर्दैछ। अमेरिकाको कान्सास सिटी स्टेडियममा हुने खेलसँगै लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले उपाधि रक्षा अभियान सुरु गर्नेछ।
नेपाली समयअनुसार आज बिहान ६:४५ बजे सुरु हुने खेल अर्जेन्टिना र मेसी दुवैका लागि विशेष महत्वको मानिएको छ। मैदान उत्रिएसँगै मेसीले अर्जेन्टिनाका लागि आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछन्। त्यस्तै, उनी ६ वटा फरक विश्वकप खेल्ने पहिलो पुरुष फुटबलर बन्नेछन्।
मेसीका लागि यो विश्वकपमा २७औँ खेल हुनेछ। यससँगै उनले विश्वकप इतिहासमा सर्वाधिक खेल खेल्ने आफ्नो कीर्तिमान अझ अगाडि बढाउनेछन्। ह्यामस्ट्रिङसम्बन्धी समस्या पार गर्दै मेसी खेलका लागि उपलब्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अर्जेन्टिनाका मुख्य गोलकिपर एमिलियानो मार्टिनेज औँलाको चोटबाट निको हुँदै टोलीमा फर्किएका छन्। तर लेफ्ट ब्याक निकोलस तागलियाफिको चोटका कारण पहिलो खेलमा उपलब्ध हुने छैनन्। प्रशिक्षक लियोनेल स्कालोनीको टोलीले पहिलो खेलमै बलियो प्रदर्शन गर्दै समूह चरणमा सकारात्मक सुरुआत गर्ने लक्ष्य राखेको छ।
अर्कोतर्फ, अल्जेरिया पनि विश्वकपको पहिलो खेलमा साविक विजेताविरुद्ध प्रतिस्पर्धी प्रदर्शन गर्ने योजनामा छ। अल्जेरियाका डिफेन्डर रामी बेन्सेबैनी गोलीगाँठोको चोटका कारण खेल गुमाउने छन्। टोलीले रियाद महरेज, अमिन गोइरी र अन्य आक्रामक खेलाडीहरूको अनुभवमा भर पर्ने अपेक्षा गरिएको छ।
सन् २०२२ को विश्वकपमा पहिलो खेलमै साउदी अरेबियासँग अप्रत्याशित हार बेहोरे पनि अर्जेन्टिनाले पछि उपाधि जितेको थियो। त्यसैले यसपटक टोली सुरुवातदेखि नै सतर्क देखिएको छ। प्रशिक्षक स्कालोनीले अल्जेरियालाई तीव्र, प्राविधिक र चुनौतीपूर्ण टोलीका रूपमा सम्मान गर्नुपर्ने बताएका छन्।
समूह ‘जे’मा अर्जेन्टिना र अल्जेरियासँगै अष्ट्रिया र जोर्डन छन्। पहिलो खेलको नतिजाले समूहको प्रारम्भिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले अर्जेन्टिना जितसहित अभियान सुरु गर्ने योजनामा हुनेछ।





