फेवातालमा बोट पल्टिँदा दुई भारतीय पर्यटकको उद्धार

पोखरा — पोखराको फेवातालमा बोट पल्टिँदा तालमा खसेका दुई भारतीय पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
मंगलबार साँझ आएको हावाहुरी र पानीको छालका कारण फेवातालमा दुईवटा सर्फेस बोट पल्टिँदा भारतबाट नेपाल घुम्न आएका ४० वर्षीय धीरज कोरवाल र ३५ वर्षीय विकास कोरवाल तालमा परेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै फेवा वाच एन्ड रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी बलको टोली उद्धारमा परिचालन भएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक राजु थापाको कमान्डमा रहेको १० सदस्यीय विपद् व्यवस्थापन टोलीले दुवै जनालाई सुरक्षित रूपमा किनारमा ल्याएको हो।
सशस्त्र प्रहरी बल नं. २४ गण कालिका, कास्कीअन्तर्गत फेवाताल क्षेत्रमा राखिएको उद्धार टोलीले तालमा हुने आकस्मिक घटनामा तत्काल उद्धार तथा सहायता सेवा दिँदै आएको छ। उद्धार गरिएका दुवै पर्यटकले लाइफ ज्याकेट लगाएका कारण कुनै मानवीय क्षति नभएको जनाइएको छ।
फेवाताल पोखराको प्रमुख पर्यटकीय गन्तव्य भएकाले मौसम बदलिएसँगै बोटिङ गर्दा थप सावधानी अपनाउन सुरक्षाकर्मीहरूले आग्रह गरेका छन्।





