३ असार २०८३, बुधबार

आठ विश्वविद्यालयका उपकुलपति उम्मेदवार अन्तर्वार्तामा बोलाइए

काठमाडौँ — शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न आठ विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूलाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै असार १३ देखि १५ गतेसम्म उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता गर्ने समय निर्धारण गरेको हो। निर्धारित कार्यक्रमअनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति उम्मेदवारहरूलाई असार १३ गते मन्त्रालयमा उपस्थित हुन भनिएको छ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उम्मेदवारहरूलाई असार १४ गते बोलाइएको छ। पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार १५ गते हुने तय भएको छ।

यसअघि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आठ विश्वविद्यालयका उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको थियो। लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि सात जना र अन्य सात विश्वविद्यालयका लागि १०/१० जना उम्मेदवार अल्पसूचीमा परेका छन्।

उपकुलपति छनोट प्रक्रिया एकीकृत कार्यविधिका आधारमा अघि बढाइएको छ। उम्मेदवारले पेस गरेका शैक्षिक योग्यता, अनुभव, अनुसन्धान, प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र, रणनीतिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा मूल्याङ्कन हुने व्यवस्था छ।

अल्पसूचीमा परेकामध्ये उच्च अङ्क प्राप्त गर्ने उम्मेदवारहरूबाट अन्तिम नाम सिफारिस गरिनेछ। लामो समयदेखि निमित्त नेतृत्वमा चलिरहेका विश्वविद्यालयहरूमा नियमित उपकुलपति नियुक्ति भएपछि नीतिगत निर्णय, शैक्षिक प्रशासन र दीर्घकालीन योजना कार्यान्वयनमा सहजता आउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button