३ असार २०८३, बुधबार

११ महिनामा लक्ष्यको ७३ प्रतिशत राजस्व सङ्कलन

काठमाडौँ — सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकमा १४ खर्ब ८० अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वार्षिक लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व उठेको छ।

कर राजस्वतर्फ सरकारले चालु आर्थिक वर्षमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो। ११ महिनाको अवधिमा यस शीर्षकमा लक्ष्यको ७४ दशमलव ०३ प्रतिशत अर्थात् नौ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ सङ्कलन भएको छ।

गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ११ महिनामा ९९ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ मात्रै उठेको छ। यो लक्ष्यको ६४ दशमलव ७३ प्रतिशत हो।

त्यस्तै, अनुदानतर्फ चालु आर्थिक वर्षमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको थियो। ११ महिनामा यस शीर्षकमा २२ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ४२ दशमलव ८२ प्रतिशत हो।

राजस्व सङ्कलनको पछिल्लो अवस्थाले आर्थिक वर्षको अन्तिम महिनामा लक्ष्य भेट्न सरकारलाई उल्लेख्य रकम जुटाउनुपर्ने देखाएको छ। कर राजस्वमा तुलनात्मक रूपमा केही प्रगति देखिए पनि गैरकर राजस्व र अनुदान प्राप्ति लक्ष्यभन्दा कमजोर अवस्थामा छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button