३ असार २०८३, बुधबार

बडीकेदारका तत्कालीन अध्यक्षसहित निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, तत्कालीन उपाध्यक्ष इन्द्राकुमारी बोहरासहित गाउँपालिकाका पदाधिकारी, कर्मचारी र निर्माण व्यवसायीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले स्थानीय ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी राजस्व रकम सङ्कलन नगरी गाउँपालिकालाई हानीनोक्सानी पुर्‍याएको आरोपमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार तत्कालीन अध्यक्ष चन्द र उपाध्यक्ष बोहराविरुद्ध १४ लाख १० हजार २४० रुपैयाँ बिगो कायम गरिएको छ। सोही प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैशी, लेखापाल युवराज भट्ट, तत्कालीन शिक्षा अधिकृत विवेक देउवा, सबइञ्जिनियर दानबहादुर पछेरा, भागीरथी निर्माण सेवा कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियारप्राप्त व्यक्ति केशवबहादुर बमविरुद्ध पनि समान बिगो, कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको छ।

त्यस्तै, गाउँपालिकाको एक्स्काभेटर भाडामा दिने ठेक्कामा पनि राजस्व रकम सङ्कलन नगरी सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी पुर्‍याएको आरोपमा आयोगले अर्को मुद्दा दायर गरेको छ। यस प्रकरणमा तत्कालीन अध्यक्ष चन्द, उपाध्यक्ष बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत जैशी, लेखापाल भट्ट, सबइञ्जिनियर पछेरा, भागीरथी निर्माण सेवा धनगढी कैलालीका सञ्चालक जोशी र अख्तियारप्राप्त व्यक्ति बमविरुद्ध ४६ लाख ९५ हजार ६०० रुपैयाँ बिगो कायम गरिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार दुवै प्रकरणमा आरोपितहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार बिगो, कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

अख्तियारले स्थानीय तहका प्राकृतिक स्रोत, ठेक्का व्यवस्थापन र उपकरण भाडासम्बन्धी राजस्व सङ्कलनमा अनियमितता भएको निष्कर्षसहित मुद्दा अघि बढाएको छ। अदालतबाट फैसला नभएसम्म आरोपितहरूलाई कानुनी रूपमा दोषी प्रमाणित मानिने छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button