छिङहाई भूकम्पपछि उद्धार र राहत कार्य तीव्र

काठमाडौँ। चीनको उत्तर–पश्चिमी छिङहाई छिङहाई प्रान्तमा मंगलबार ६.३ म्याग्निच्युडको भूकम्प गएपछि राज्य परिषद् भूकम्प राहत मुख्यालयको कार्यालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले चौथो तहको राष्ट्रिय आकस्मिक प्रतिक्रिया सक्रिय गरेका छन्।
चिनियाँ राज्य समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्प छिङहाई प्रान्तको हाइसी मङ्गोलियाली तथा तिब्बती स्वायत्त प्रिफेक्चरमा स्थानीय समयअनुसार मंगलबार साँझ ५ बजेर ६ मिनेटमा गएको थियो। भूकम्पको गहिराइ १० किलोमिटर मापन गरिएको छ।
चीन भूकम्प सञ्जाल केन्द्रले भूकम्पको केन्द्र ३७.८० डिग्री उत्तरी अक्षांश र ९५.५६ डिग्री पूर्वी देशान्तरमा रहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार मंगलबार साँझ ६ बजेर ४० मिनेटसम्म एक जनाको मृत्यु भएको र चार जना घाइते भएका छन्।
आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यको मार्गदर्शन गर्न कार्यदल पठाइएको छ। मन्त्रालयले स्थानीय निकायहरूलाई समन्वय बलियो बनाउन, उद्धार टोली शीघ्र परिचालन गर्न, फसेका व्यक्तिको खोजी र उद्धारमा पूर्ण प्रयास गर्न, राहत सामग्री पुर्याउन र प्रभावित बासिन्दाको सुरक्षित व्यवस्थापन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले भूकम्पीय गतिविधिको निरन्तर अनुगमन र जोखिम मूल्याङ्कनलाई पनि प्राथमिकता दिन आग्रह गरेको छ। सम्भावित परकम्प तथा दोस्रो चरणका जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा अवस्था मूल्याङ्कन गरिरहेका छन्।
राष्ट्रिय व्यापक अग्नि तथा उद्धार बलले घटनास्थलतर्फ ३२० उद्धारकर्मी, ७८ सवारीसाधन र १० खोजी–उद्धार कुकुर पठाएको छ। साथै पाल, फोल्डिङ बेड, सिरक, कम्बल, पारिवारिक आकस्मिक सामग्री र आकस्मिक प्रकाश उपकरणसहित १० हजार राहत सामग्री छिङहाईका लागि परिचालन गरिएको छ।
सिन्ह्वाका अनुसार चीनको राष्ट्रिय विपद् रोकथाम, न्यूनीकरण तथा राहत आयोगको कार्यालय, आपतकालीन व्यवस्थापन मन्त्रालय र राष्ट्रिय खाद्य तथा रणनीतिक भण्डार प्रशासनले संयुक्त रूपमा राहत सामग्री पठाएका हुन्। सामाजिक स्रोत परिचालनका लागि आकस्मिक सामग्री समन्वय संयन्त्र पनि सक्रिय गरिएको छ।
चीनमा आकस्मिक प्रतिक्रिया प्रणाली चार तहको छ। पहिलो तहलाई सबैभन्दा गम्भीर प्रतिक्रिया मानिन्छ भने चौथो तह तुलनात्मक रूपमा न्यून तर औपचारिक राष्ट्रिय प्रतिक्रिया हो। छिङहाई भूकम्पपछि उद्धार, राहत, पुनर्स्थापना र क्षति मूल्याङ्कन कार्य जारी रहेको चिनियाँ पक्षले जनाएकोछ।





