तीन महिनामा एक हजार ४५२ सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पछिल्लो तीन महिनामा आठ वटा समस्याग्रस्त सहकारीका एक हजार ४५२ साना बचतकर्ताको रकम फिर्ता गरिएको बताएकी छन्।
बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले रुजु भएका १० हजार रुपैयाँ वा सोभन्दा कम बचत भएका साना बचतकर्तालाई ५९ लाख ४ हजार ६ सय रुपैयाँ फिर्ता गरिएको जानकारी दिइन्।
उनका अनुसार सोही अवधिमा तीन करोड ५४ लाख ४९ हजार रुपैयाँ ऋण असुली भएको छ। उक्त रकम सम्बन्धित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा उनीहरूका एकाघर परिवारका सदस्यहरूको सम्पत्ति र बैंक खाता रोक्का गरी तथा सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएको मन्त्री रावलले बताइन्।
मन्त्री रावलले सहकारी क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारले काम अघि बढाइसकेको बताइन्। उनका अनुसार बचतकर्तालाई यथाशीघ्र राहत उपलब्ध गराउने उद्देश्यसहित समस्याग्रस्त सहकारीको ऋण असुली, सम्पत्ति व्यवस्थापन र बचत फिर्ताको प्रक्रिया अघि बढाइएको छ।
उनले सहकारी क्षेत्रमा देखिएको बेथितिबारे अध्ययन गर्न गठित आयोगले विगतमा प्रभावकारी अनुगमन र नियमनको अभावलाई प्रमुख समस्या मानेको उल्लेख गरिन्। कार्यक्षेत्र विस्तार, सेवा केन्द्र थप र संस्थागत व्यवस्थापनमा देखिएका कमजोरीका कारण समस्या गहिरिएको उनको भनाइ थियो।
मन्त्री रावलले समस्याग्रस्त सहकारी मात्र नभई देशभरका अन्य सहकारी संस्थाको पनि प्रभावकारी अनुगमन छिट्टै सुरु गरिने बताइन्। सहकारी क्षेत्रप्रति जनविश्वास कायम राख्न नियमन, पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ बनाइने उनले उल्लेख गरिन्।
यसैबीच, मन्त्री रावलले निजामती कर्मचारीको उमेर हदसहित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा रायका लागि कानून मन्त्रालयमा पठाइएको जानकारी दिइन्।





