३ असार २०८३, बुधबार

सेफ सन्तोष साहले भने– विवाद साढे चार लाखको चेकसँग सम्बन्धित हो

काठमाडौँ। मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार साहले आफूविरुद्धको मुद्दा दुई करोड २५ लाख रुपैयाँको रेस्टुरेन्ट खरिद विवाद नभई चार लाख ५० हजार रुपैयाँको चेकसँग मात्र सम्बन्धित रहेको बताएका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा साहलाई शुक्रबार जनकपुरबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार काठमाडौँको गौरीधारास्थित रेस्टुरेन्ट खरिद गर्दा सहमतिअनुसार रकम भुक्तानी नगरेको र केही चेक सटही नभएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

साहले भने गौरीधारास्थित ‘शीला रेस्टुरेन्ट’ खरिदपछि घरबेटी र रेस्टुरेन्टबीच रहेको पुरानो भाडा विवाद तथा बैंक ऋणको जिम्मेवारीसमेत आफूले लिएको दाबी गरेका छन्। उनका अनुसार २५ लाख रुपैयाँको चेकसम्बन्धी रकम भुक्तानी भइसकेको छ।

उनले हालको विवाद चार लाख ५० हजार रुपैयाँको चेकसँग मात्र सम्बन्धित रहेको बताएका छन्। साहले यसलाई ठूलो रेस्टुरेन्ट खरिद विवादका रूपमा प्रस्तुत गर्नु गलत भएको दाबी गरेका छन्।

पक्राउ प्रक्रिया र सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति पनि साहले असन्तुष्टि जनाएका छन्। उनले आफूलाई योजनाबद्ध रूपमा फसाइएको दाबी गर्दै सार्वजनिक गरिएको भिडियोले घटनाको पूर्ण प्रसंग नदेखाएको बताएका छन्।

साहका अनुसार करिब तीन घण्टासम्म भएको छलफलका क्रममा अर्को पक्षबाट दुर्व्यवहार भएको थियो। उनले आफूमाथि थुकिएको आरोप लगाउँदै त्यसपछि देखिएको आफ्नो आक्रोशका केही सेकेन्ड मात्र काटेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको दाबी गरेका छन्।

प्रहरीले भने जाहेरी र उपलब्ध कागजातका आधारमा अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनाबारे थप तथ्य अनुसन्धानपछि मात्र स्पष्ट हुने बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button