३ असार २०८३, बुधबार

अर्थतन्त्र सुधारको जग बसाल्ने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको आधार तयार गर्ने उद्देश्यसहित सरकारले बजेट ल्याएको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्शले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि आवश्यक परिस्थिति निर्माण गर्ने र सुधारको जग बसाल्ने गरी बजेट तयार गरिएको बताए। उनका अनुसार वर्तमान सरकारको दोस्रो र तेस्रो वर्ष सुधारका कार्यक्रमलाई अझ तीव्र बनाइनेछ।

अर्थमन्त्री वाग्लेले चौथो र पाँचौँ वर्षमा सुधारका प्रारम्भिक चरणभन्दा अघि बढेर आर्थिक राजकाजको दिशा मोड्दै ठोस गन्तव्यतर्फ अघि बढ्ने सरकारको योजना रहेको बताए। उनले आगामी पाँच वर्षमा अर्थतन्त्रमा रूपान्तरणकारी काम गरिएपछि त्यसका परिणाम क्रमशः देखिने र जनताले पनि महसुस गर्ने धारणा राखे।

निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र अघि बढ्न नसक्ने भन्दै उनले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले कर तथा नीतिगत सुधारका विभिन्न कार्यक्रम अघि सारेको जानकारी दिए। उनले अर्थतन्त्र सुधारका लागि हरेक विषय बजेटमै पर्खनु नपर्ने उल्लेख गर्दै आवश्यक परे मन्त्रालय वा मन्त्रिपरिषद्को निर्णयबाट पनि नीतिगत सुधार अघि बढाउन सकिने बताए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्दा त्यसको असर सबै क्षेत्रमा परेको बताए। बैंकहरूमा लगानीयोग्य रकम उपलब्ध भए पनि निजी क्षेत्र लगानीका लागि पर्याप्त रूपमा आकर्षित हुन नसकेको विषयमा राज्यले गम्भीर रूपमा सोच्नुपर्ने उनको भनाइ थियो।

अध्यक्ष अग्रवालले सरकारले अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गरेपछि व्यापार क्षेत्रमा विभिन्न असुविधा देखिएको गुनासो पनि गरे। उनले निजी क्षेत्रको मनोबल बढाउने, नीतिगत स्थिरता कायम गर्ने र व्यावसायिक वातावरण सहज बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button