घोराहीको नीति तथा कार्यक्रममा कृषि, शिक्षा र सामाजिक विकास प्राथमिकतामा

दाङ। घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
उपमहानगरपालिकाको १९औँ नगर अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय गौरवका आयोजना, अधुरा तथा क्रमागत योजना र पुँजीगत बजेटको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखिने बताए।
उनका अनुसार आवधिक योजना, मध्यकालीन खर्च संरचना र आयोजना बैंकलाई आधार बनाएर विकास कार्यक्रम अघि बढाइनेछ। सार्वजनिक जग्गाको संरक्षण, फुसका छाना हटाएर फुसमुक्त वडा निर्माण र जग्गा प्लटिङसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
खोला, खोल्सी, सिमसार र जलस्रोत संरक्षण गर्दै भूमिगत जलभण्डार स्थिर राख्ने नीति उपमहानगरपालिकाले अघि सारेको छ। जलाशय व्यवस्थापनमा निजी क्षेत्रसँग साझेदारी गरिने र भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापनलाई प्राथमिकता दिइने जनाइएको छ।
कृषि क्षेत्रतर्फ उन्नत बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने, भर्मीकम्पोष्ट मल उत्पादनमा सहयोग गर्ने, माटो परीक्षण शिविर सञ्चालन गर्ने, कृषक तालिम दिने र किसान परिचयपत्र वितरण कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ।
बाँझो जमिन उपयोगका लागि भूमि बैंक कार्यक्रम सञ्चालन गरिनेछ। कृषि उत्पादनको बजारीकरण सहज बनाउन चार स्थानमा साप्ताहिक हाटबजार सञ्चालन गर्ने योजना पनि उपमहानगरपालिकाले अघि सारेको छ। पशुपालनलाई व्यवसायीकरण गर्दै दूध र मासु उत्पादन वृद्धि गर्ने लक्ष्यसमेत नीति तथा कार्यक्रममा समेटिएको छ।
शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर सुधार, पूर्वाधार विकास र सामुदायिक विद्यालयको सम्पत्ति संरक्षणमा जोड दिइएको छ। उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने र कमजोर नतिजा भएका विद्यालयलाई थप जिम्मेवार बनाउने नीति लिइएको छ।
सामाजिक क्षेत्रमा छुवाछुत, लैङ्गिक विभेद, घरेलु हिंसा, बालविवाह, दाइजो र बोक्सी प्रथाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संरक्षणका लागि सेवा तथा पुनःस्थापना केन्द्रलाई सुदृढ बनाइने जनाइएको छ।
विपद् व्यवस्थापन, वातावरण संरक्षण, वृक्षारोपण र प्लास्टिकजन्य प्रदूषण नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ। नगरलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख चौधरीले बताए।
नगर अधिवेशनको दोस्रो बैठक असार ५ गते बस्ने गरी स्थगित गरिएको छ।





