रामहरि श्रेष्ठ हत्या मुद्दामा दोषी बटाला कारागार चलान

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्।
व्यवसायी रामहरि श्रेष्ठको अपहरण तथा हत्या मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय सुनाइएका बटालाले बुधबार अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन्। उनी तत्कालीन माओवादी लडाकुका ब्रिगेड कमान्डर थिए।
सर्वोच्च अदालत प्रशासनले आत्मसमर्पणपछि बटालालाई डिल्लीबजार कारागार चलान गरेको छ। कालिकोटको माल्कोट स्थायी ठेगाना भएका बटाला रामहरि श्रेष्ठको अपहरण तथा हत्या मुद्दामा दोषी ठहर भएका थिए।
२०८३ जेठ २८ गते न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले पुनरावलोकन सुनुवाइ गर्दै यसअघिको फैसला उल्ट्याएर बटालालाई १० वर्ष कैद सजाय तोकेको थियो।
कानुनी व्यवस्थाअनुसार फैसला भएको मितिले ६० दिनभित्र उपस्थित भई कैद भुक्तान गर्न थालेमा जरिवानाको २० प्रतिशत मिनाहा हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार बटालाले सजायमा २० प्रतिशत छुट पाउने भएका छन्।
व्यवसायी रामहरि श्रेष्ठलाई २०६८ असार ६ गते काठमाडौँबाट अपहरण गरी चितवन लगिएको घटनामा बटाला दोषी ठहर भएका थिए।





