३ असार २०८३, बुधबार

विश्वविद्यालय शिक्षा रोजगारमुखी बनाउन सरकार प्रतिबद्ध : मन्त्री पोखरेल

सुर्खेत। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रमबजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने बताए। यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

उनले विश्वविद्यालयबाट प्राप्त शिक्षा प्रमाणपत्रमा मात्र सीमित हुन नहुने बताए। शिक्षा रोजगारी, उद्यमशीलता र सामाजिक रूपान्तरणसँग जोडिनुपर्ने उल्लेख गर्दै उनले दीक्षित विद्यार्थीलाई प्राप्त ज्ञान र सीप समाज र देशको विकासमा उपयोग गर्न आग्रह गरे।

मन्त्री पोखरेलले कर्णालीका प्राकृतिक तथा सांस्कृतिक स्रोतको अध्ययन र अनुसन्धानलाई मध्यपश्चिम विश्वविद्यालयले प्राथमिकता दिनुपर्ने बताए। प्रदेशमा उपलब्ध जलस्रोत, वन, जडीबुटी, पर्यटन र सांस्कृतिक सम्पदाको वैज्ञानिक अनुसन्धानमार्फत स्थानीय विकास र आर्थिक समृद्धिमा योगदान पुर्‍याउन सकिने उनको धारणा थियो।

उनले मध्यपश्चिम विश्वविद्यालयलाई कर्णालीको शैक्षिक गौरवका रूपमा उल्लेख गर्दै स्थापनायता अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल प्रविधि र नवप्रवर्तनका क्षेत्रमा विश्वविद्यालयले उल्लेखनीय प्रगति गरेको बताए। उच्च शिक्षाको गुणस्तर सुधार र आधुनिक प्रविधिको प्रयोग विस्तारमा विश्वविद्यालयले खेलेको भूमिकाको उनले प्रशंसा गरे।

दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै मन्त्री पोखरेलले शिक्षा राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताए। उनले युवापुस्ताले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतामार्फत गरिबी, बेरोजगारी, स्वास्थ्य चुनौती, जलवायु परिवर्तन, सूचना प्रविधि र जैविक विविधतासम्बन्धी समस्याको समाधान खोज्न सक्ने विश्वास व्यक्त गरे।

नेपाल विकास र समृद्धिको यात्रामा अघि बढिरहेको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षा र सिर्जनशील सोचका माध्यमबाट युवापुस्ताले देशको अर्थतन्त्रलाई थप सबल र प्रतिस्पर्धी बनाउन सक्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button