३ असार २०८३, बुधबार

असार तेस्रो सातादेखि विस्थापित सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विस्थापित सुकुम्बासीलाई असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गरिने बताएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले जग्गाधनी पुर्जा वितरणका लागि सरकारले आवश्यक तयारी अघि बढाइसकेको जानकारी दिइन्।

उनका अनुसार लालपुर्जा वितरणसम्बन्धी काम सुरु भइसकेको छ। उनले भनिन्, “लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौँ। अब असारको तेस्रो हप्तादेखि लालपुर्जा वितरण गर्ने काम सुरु गर्छौँ।”

बजेटमाथिको छलफलका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी व्यवस्थापन कहिले हुन्छ भन्दै सरकारसँग प्रश्न गरेका थिए। उनले जग्गा उपलब्ध गराउने विषयमा सरकारको स्पष्ट योजना माग गरेका थिए।

राईले बुधबारकै बैठकमा होल्डिङ सेन्टरमा राखिएका विस्थापित सुकुम्बासीले आधारभूत सेवा नपाएको विषय पनि उठाएका थिए। उनले पुरानै स्थानमा सहरी योजना बनाएर व्यवस्थित रूपमा बसोबास गराउन सकिने धारणा राखे।

कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनमा राखिएका थापाथली र गैरीगाउँका विस्थापित सुकुम्बासीले सोमबार बिहान खाना नपाएको विषय पनि संसदमा उठेको थियो। त्यसपछि पनि खाना व्यवस्थापनमा समस्या देखिएको बताइएको छ।

काठमाडौँ महानगरपालिकाले एक संस्थालाई खाना व्यवस्थापनको जिम्मेवारी दिएको भए पनि विस्थापित सुकुम्बासीले औषधि उपचारलगायत आधारभूत सेवामा सहज पहुँच पाउन नसकेको गुनासो गरेका छन्।

सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण सुरु गर्ने जनाएको भए पनि अस्थायी रूपमा राखिएका विस्थापित परिवारको खाना, स्वास्थ्य सेवा र सुरक्षित बसोबास व्यवस्थापन तत्काल समाधान गर्नुपर्ने आवाज उठेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button