३ असार २०८३, बुधबार

पापडद्वारा नागरिक अधिकार र प्रेस स्वतन्त्रताका पक्षमा माइतीघर र्‍यालीको आह्वान

काठमाडौँ। शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले पछिल्लो समय मुलुकमा देखिएका राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पापडले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन, नागरिक अधिकारको संरक्षण र न्यायालयको स्वतन्त्रता लोकतन्त्रका आधारभूत मान्यता भएको उल्लेख गरेको छ। तर वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्य–मान्यतालाई क्रमशः संस्थागत रूपमा कमजोर बनाउँदै लगेको भन्दै सञ्जालले चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा लोकतन्त्र केवल निर्वाचनमार्फत प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता र विधिको शासनमा आधारित प्रणाली भएको स्मरण गराइएको छ।

पापडले पछिल्लो समय सुकुम्बासी बस्ती जबर्जस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठ्ने गरी कार्यपालिकाबाट निर्देशित न्यायपालिका सञ्चालन गर्न खोजिएको अवस्था, संसद्को सक्रिय र प्रभावकारी भूमिका कमजोर पार्ने अभ्यास, नागरिक अधिकार संकुचित पार्ने प्रयास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमा आघात पुर्‍याउने गतिविधिप्रति विरोध जनाएको छ।

त्यसैगरी आर्थिक नीतिका कारण आम नागरिकको जीविका, रोजगारी, व्यवसाय र सम्मानजनक जीवनयापनमा प्रतिकूल असर परेको पापडको भनाइ छ। विज्ञप्तिमा शक्ति सन्तुलनका आधारभूत सिद्धान्तको उल्लंघन, राज्यको नियन्त्रणमुखी व्यवहार, विश्वविद्यालयहरूको स्वायत्ततामाथि प्रहार र शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा देखिएको नीतिगत अस्पष्टता र उदासीनताप्रति पनि आपत्ति जनाइएको छ।

सञ्जालले सरकारलाई नागरिक सर्वोच्चता, मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन, संविधानको अक्षर र भावना, लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, न्यायपालिकाको स्वतन्त्रता, नागरिक अधिकार र संस्थागत सन्तुलनको रक्षा गर्न आग्रह गरेको छ।

पापडले लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि सबै लोकतान्त्रिक शक्ति, पेशागत संगठन, स्वतन्त्र नागरिक, शुभेच्छुक तथा नागरिक समाजलाई एकजुट हुन आह्वान गरेको छ।

नागरिक अधिकार खुम्च्याउने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमा अंकुश लगाउने सरकारी प्रयासको विरोधमा नेपाल पत्रकार महासंघले असार ५ गते दिउँसो ४ बजे माइतीघरमा आयोजना गर्ने र्‍यालीप्रति पापडले ऐक्यबद्धता जनाएको छ। सञ्जालले उक्त र्‍यालीमा सहभागी हुन सबैलाई आह्वान गरेको छ।

विज्ञप्तिमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. विजय रिजाल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. रमेशकुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले हस्ताक्षर गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button