शाननानमा उच्च भूभागको मौरीजन्य उत्पादन सम्मेलन हुँदै

काठमाडौँ। विश्वकै उच्च भूभागमा आयोजना हुने मौरीजन्य उत्पादनसम्बन्धी उद्योग सम्मेलन पहिलोपटक तिब्बतमा हुने भएको छ। सन् २०२६ को चीन मौरीजन्य उत्पादन उद्योग सम्मेलन जुन १५ देखि १७ सम्म तिब्बत स्वायत्त क्षेत्रको शाननान शहरस्थित नेदोङ जिल्लामा आयोजना हुने भएको हो।
राष्ट्रियस्तरको यो उद्योग सम्मेलन तिब्बतमा आयोजना हुन लागेको पहिलोपटक हो। सम्मेलनलाई उच्च भूभागको मौरीपालन, मौरीजन्य उत्पादन, सांस्कृतिक पर्यटन र ग्रामीण आयवृद्धिसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा प्रस्तुत गरिएको छ।
यस वर्षको सम्मेलनको मुख्य विषय “मानव संसारको पवित्र भूमि, मौरीजन्य उत्पादन र शाननानको प्रतिबद्धता” राखिएको छ। कार्यक्रम शाननान शहर जनसरकार र चीनको खाद्य, स्थानीय उत्पादन तथा पशु–उत्पादन आयात–निर्यात वाणिज्य सङ्घको संयुक्त आयोजनामा हुने जनाइएको छ।


सम्मेलनको व्यवस्थापन नेदोङ जिल्ला जनसरकार र तिब्बत येबान फेङशेङ मौरीजन्य संस्कृति तथा पर्यटन विकास कम्पनीले गर्नेछन्। कार्यक्रममा चीनभरका मौरीजन्य उत्पादन क्षेत्रका विज्ञ, अगुवा उद्यमका प्रतिनिधि, अनुसन्धानकर्ता र व्यवसायी सहभागी हुनेछन्।
आयोजकका अनुसार १३ देशका उद्योग विशेषज्ञ, सांस्कृतिक क्षेत्रका प्रतिनिधि, व्यापारी तथा अन्तर्राष्ट्रिय मौरीपालनसम्बन्धी संस्थाका प्रतिनिधिसहित दुई सयभन्दा बढी सहभागी सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएको छ।
सम्मेलनमा उच्च भूभागका मौरी स्रोतको संरक्षण, मौरीजन्य उत्पादनको नवप्रवर्तन र अनुसन्धान, उत्पादनको गुणस्तर, बजार विस्तार, तथा मौरी संस्कृति र पर्यटनको एकीकृत विकासबारे छलफल हुनेछ। उच्च हिमाली तथा पठारी वातावरणमा मौरीपालनलाई दिगो र व्यावसायिक बनाउने उपाय पनि सम्मेलनको प्रमुख विषय हुनेछ।
तिब्बतमा सन् २००४ मा पश्चिमी मौरी भित्र्याइएपछि शाननानको मौरीपालन उद्योग क्रमशः विस्तार भएको जनाइएको छ। बीस वर्षभन्दा लामो विकासपछि हाल त्यहाँ मौरीपालनको आकार १७ हजारभन्दा बढी मौरीघारसम्म पुगेको छ।
स्थानीय स्रोतका अनुसार तिब्बतमा गुणस्तरीय मह उत्पादन वार्षिक तीन सय टनभन्दा बढी पुगेको छ। यस उद्योगले स्थानीय किसान र पशुपालकका हजारौँ परिवारको आयवृद्धिमा योगदान पुर्याएको जनाइएको छ।
शाननानमा मौरीपालन पहिले छरिएको सानो गतिविधिका रूपमा रहेकोमा अहिले सरकारको मार्गदर्शन, उद्यमको नेतृत्व, सहकारीको सहभागिता र किसानको संलग्नताबाट अघि बढ्ने पर्यावरणमैत्री उद्योगको नमुनामा रूपान्तरण हुँदै गएको बताइएको छ।
यो सम्मेलनमार्फत शाननानले तिब्बती गुणस्तरीय मह र मौरीजन्य उत्पादनलाई राष्ट्रिय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य राखेको छ। आयोजकहरूले सम्मेलनले उच्च भूभागको मौरी उद्योग, ग्रामीण पुनरुत्थान, स्थानीय आयवृद्धि र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरेका छन्।





